उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क
संगीता राई
धरान | वैशाख २४ – धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समयआन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।
केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि अहिलेलोकप्रिय पर्यटन गन्तव्यका रूपमा परिचित बनेको हो ।
पार्कभित्र बनाइएको आकर्षक पानीको फोहरा (वाटर फाउन्टेन), हरियाली वातावरण, फूलबारी तथा चौतारालेपर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने गरेका छन्। सामाजिक सञ्जालमा पार्कका तस्बिर तथा भिडियोहरूभाइरल भएपछि यहाँ आउने पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।
सिराहाको धनगढीमाई नगरपालिकाबाट घुम्न आउनुभएका हरिनारायण चौधरीले धरान धेरैपटक आए पनियसपटक पहिलोपटक श्रम संस्कृति पार्क घुम्दा निकै रमाइलो लागेको बताउनुभयो ।
पहिले ‘ओशो पार्क’ र ‘बीपी पार्क’का रूपमा चिनिने उक्त क्षेत्र अहिले श्रम संस्कृति पार्क नामले परिचित छ । श्रमदान अभियानमार्फत विकास गरिएको यस क्षेत्रमा एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिकपार्क लगायतका संरचनाहरू निर्माण गरिएका छन्। साथै, गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ पनि पर्यटकको अर्को आकर्षण बनेको छ ।
सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा निर्माण गरिएको पार्कमा फलफूलका बिरुवा, बगैँचा, विश्रामस्थल तथास्थानीय संस्कृति झल्काउने विभिन्न प्रतिमाहरू राखिएका छन् । धरानको पहिचान झल्काउने काठ काट्ने आराकोनमूना र किरात संस्कृतिसँग सम्बन्धित चिन्डोको आकृतिमा बनाइएको धारा पनि यहाँको विशेषता मानिन्छ ।
पार्क निर्माणसँगै आसपास क्षेत्रमा होटल तथा खाजा पसलको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । स्थानीय होटलव्यवसायी सुरज गुरुङका अनुसार पार्क बनेपछि व्यापारमा राम्रो वृद्धि भएको छ।
पार्क संरक्षण समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार अहिले दैनिक पाँच सयदेखि एक हजारसम्मपर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक पुग्ने गरेका छन्। उहाँका अनुसार पार्कक्षेत्रमा हाल २५ देखि २८ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन्।
धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्कराज राईको नेतृत्वमा सुरु गरिएको श्रमदान अभियानबाटपार्कको विकास गरिएको हो। स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरूको सहयोग र श्रमदानबाट निर्माणगरिएको यो पार्क अहिले धरानको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
धरान–१३ स्थित फुस्रे चोकबाट पार्कसम्म पुग्ने करिब एक किलोमिटर सडक कोशी प्रदेश सरकारको करिब ४०लाख रुपैयाँ सहयोगमा कालोपत्र भएपछि पर्यटकलाई आवतजावतमा समेत सहज भएको छ ।





