इटहरी । चलचित्र पत्रकार संघ नेपाल, सुनसरीको आयोजनामा लघु चलचित्र ‘पत्ती’को विशेष प्रदर्शन सम्पन्न भएको छ। मंसिर ६ गते शनिबार बिहान १० बजे इटहरीस्थित क्यूएफएक्स सिनेमा हलमा चलचित्रको विशेष स्क्रिनिङ गरिएको हो।

विभिन्न चलचित्र महोत्सवलाई लक्षित गरी निर्माण गरिएको लघु चलचित्र ‘पत्ती’को लेखन, निर्देशन तथा सम्पादन जीवन दाहालले गरेका हुन्। चलचित्रमा उत्तम राज पाण्डे, युनिबा भट्टराई, रेणुका पराजुली र अस्लेसा थापाको अभिनय रहेको छ।

लघु चलचित्रका रूपमा निर्माण गरिएको ‘पत्ती’मा कथावस्तु र पात्रहरूको प्रस्तुतिलाई मुख्य प्राथमिकता दिइएको छ। चलचित्रको छायाङ्कन पवन सिग्देलले गरेका हुन् भने प्रोडक्सन म्यानेजरको जिम्मेवारी हिमेश तिम्सिनाले सम्हालेका छन्।

त्यसैगरी, मुख्य सहायक निर्देशकमा डेबिट विष्ट, सहायक निर्देशन तथा कलरिस्टमा जेसिस थापा, स्टिल फोटोग्राफरमा गुरु ढकाल र संवाद अनुवादमा दिप्ती लामिछाने रहेका छन्।

विशेष स्क्रिनिङमा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका महासचिव तथा कलाकार दिनेश कोइराला, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीका अध्यक्ष गुरु ढकाल, कोशी भिजन फिल्म्सका हेमन तामाङ, कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती, इभेन्ट अर्गनाइजर उर्मिला मगर तथा कलालयमा आबद्ध नाटक निर्देशक प्रजल पराजुलीलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, स्क्रिनिङका लागि हल उपलब्ध गराएको क्यूएफएक्स सिनेमाजकी हल म्यानेजर अस्मिता गुरागाईंको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय चलचित्रकर्मी, कलाकार, पत्रकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई एउटै थलोमा जोड्दै चलचित्र अवलोकन र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

चलचित्र पत्रकार संघ नेपाल, सुनसरीले आयोजना गरेको यस कार्यक्रमले स्थानीय स्तरमा चलचित्र निर्माण, प्रदर्शन तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्नुका साथै कोशी प्रदेशको चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया