सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रसम्म अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। यही क्रममा युवा नेता कमल ढुंगाना ‘कुन्दन’ ले नेपाली कांग्रेस सुन्दरहरैंचा नगर उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नगर सभापतिसहित विभिन्न पदमा आकांक्षीहरू मैदानमा देखिन थालेका बेला ढुंगानाको उपसभापति पदमा दाबीले नगर कांग्रेसको अधिवेशनलाई थप चर्चामा ल्याएको छ। लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका ढुंगानाले आफ्नो उम्मेदवारीलाई अनुभव, संगठन निर्माण र युवा नेतृत्वको संयोजनका रूपमा प्रस्तुत गरेका छन्।
ढुंगाना कांग्रेसका लागि पछिल्लो समय चर्चामा आएका नयाँ अनुहार मात्र होइनन्। उनी करिब १५ वर्षदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्यका रूपमा पार्टीको संगठन, राजनीतिक गतिविधि तथा कार्यकर्तासँग निरन्तर जोडिँदै आएका छन्। लामो समयदेखि संगठनभित्र रहेर काम गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा अघि सारेका छन्।
युवामाझ सक्रिय ढुंगानाले नेपाल तरुण दल सुन्दरहरैंचा नगरको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। तरुण दलमार्फत युवालाई संगठनसँग जोड्ने, उनीहरूका सवाललाई राजनीतिक बहसमा ल्याउने तथा पार्टीका गतिविधिलाई तल्लो तहसम्म पुर्याउने काममा उनले भूमिका निर्वाह गरेको बताइन्छ।
राजनीतिक संगठनसँगै सामाजिक क्षेत्रमा पनि ढुंगानाको सक्रियता देखिन्छ। उनी हाल गछिया जेसीजका अध्यक्षका रूपमा युवामाझ नेतृत्वदायी भूमिकामा छन्। सामाजिक उत्तरदायित्व, युवा परिचालन र सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका ढुंगानाले राजनीतिक र सामाजिक दुवै क्षेत्रबाट निर्माण भएको सम्बन्धलाई आफ्नो नेतृत्व यात्राको महत्वपूर्ण आधारका रूपमा लिएका छन्।
‘पार्टीलाई बलियो बनाउन संगठन बलियो हुनुपर्छ र संगठन बलियो बनाउन कार्यकर्तासँग नेतृत्वको प्रत्यक्ष सम्बन्ध आवश्यक हुन्छ’ भन्ने मान्यतासहित आफू अघि बढेको ढुंगाना निकट नेताहरू बताउँछन्। नगर संगठनलाई थप सक्रिय, व्यवस्थित, पारदर्शी र कार्यकर्तामुखी बनाउने विषयलाई उनले प्राथमिकतामा राखेको उनीहरूको भनाइ छ।
ढुंगानाको उम्मेदवारीमा उनको दीर्घ राजनीतिक सक्रियता, तरुण दलको नेतृत्व अनुभव, युवा पुस्तासँगको सम्बन्ध तथा सामाजिक क्षेत्रमा गरेको सक्रियतालाई मुख्य आधारका रूपमा हेरिएको छ।
नगर उपसभापतिको जिम्मेवारी पार्टीको संगठन र नेतृत्वबीच समन्वय गर्ने महत्वपूर्ण भूमिकाका रूपमा लिइन्छ। त्यसैले आगामी अधिवेशनमा उम्मेदवारहरूको राजनीतिक अनुभवसँगै संगठनमा गरेको योगदान, कार्यकर्तासँगको सम्बन्ध र नेतृत्व क्षमता पनि चर्चाको विषय बनेको छ।
सुन्दरहरैंचा कांग्रेसमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै गर्दा ढुंगानाको उम्मेदवारीले युवा नेतृत्वको बहसलाई समेत थप अगाडि ल्याएको छ। अब नगर उपसभापतिको प्रतिस्पर्धामा देखिने अन्य आकांक्षी र अधिवेशन प्रतिनिधिहरूको भूमिकाले अन्तिम राजनीतिक समीकरण कस्तो बन्छ भन्ने विषयमा कांग्रेस वृत्तमा चासो बढेको छ।
करिब डेढ दशकदेखि पार्टी संगठनसँग जोडिएको अनुभव, युवामाझको सक्रियता र सामाजिक नेतृत्वलाई साथमा लिएर उपसभापतिको दौडमा उत्रिएका ढुंगाना भन्छन्— अबको कांग्रेसलाई अझ सक्रिय, संगठित र कार्यकर्तासँग जोडिएको संगठनका रूपमा अघि बढाउन आफूले भूमिका निर्वाह गर्न चाहेको उनको भनाइ छ।







