सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३ लाई सफल बनाउन राजनीतिक दल तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ।

फेस्टिभल असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा–१० स्थित औद्योगिक प्रदर्शनी केन्द्र, विराटचोकमा सञ्चालन हुनेछ। फेस्टिभलमा करिब २० वटा खानाका परिकारका स्टल रहनेछन्। विभिन्न जातजातिका मौलिक परिकारसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको प्रदर्शन तथा प्रवर्द्धनसमेत गरिने आयोजकले जनाएको छ।

फेस्टिभलमा स्थानीय तथा राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति रहनेछन् भने बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधिसमेत सञ्चालन गरिनेछ।

छलफलमा श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर प्रमुख तथा प्रतिनिधिका साथै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज चापागाईंलगायत सहभागी थिए।

सहभागीहरूले स्थानीय जातजातिका मौलिक परिकारलाई प्राथमिकता दिनुपर्ने, नगरका सबै भूगोललाई समेट्नुपर्ने, कृषकका उत्पादनको प्रवर्द्धन गर्नुपर्ने तथा स्थानीय कलाकारलाई पर्याप्त अवसर दिनुपर्ने सुझाव दिएका थिए।

कांग्रेसकी नगर उपसभापति अमृता लिम्बूले स्थानीय जनजातिका मौलिक परिकारलाई प्राथमिकता दिँदै नगरका सबै क्षेत्रलाई समेटेर कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन्। एमालेका नगर अध्यक्ष डिल्लीप्रसाद ढकालले सबै जातजातिलाई जोडेर कार्यक्रम गर्नुपर्ने तथा चाडपर्वको समय भएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान दिनुपर्ने बताए।

रास्वपाका नगर सभापति टेकमणि न्यौपानेले दशैंका कारण व्यवसायी तथा स्टल सञ्चालकलाई जनशक्ति व्यवस्थापनमा समस्या हुन सक्ने भन्दै त्यसतर्फ आयोजकले ध्यान दिनुपर्ने बताए। उनले फेस्टिभलबाट प्राप्त आम्दानीको केही रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सके सकारात्मक हुने सुझावसमेत दिए।

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज चापागाईंले स्थानीय मौलिक पोसाकसहित परिकार प्रस्तुत गर्नुपर्ने बताए। उनले व्यवसायीहरूले फेस्टिभलमा सम्भावना देख्ने वातावरण बनाउनुपर्ने तथा विभिन्न क्षेत्रका मौलिक परिकारको प्रचार–प्रसारमा जोड दिनुपर्ने धारणा राखे।

संघका अध्यक्ष नारायण कार्कीले फेस्टिभलमा सीसी क्यामेरासहित प्रभावकारी सुरक्षा व्यवस्था मिलाइने बताए। उनले फेस्टिभलबाट प्राप्त रकममध्ये केही रकम छुट्याएर अधुरो सार्वजनिक शौचालय निर्माण पूरा गर्ने योजना रहेको जानकारी दिए।

संघले पहिलोपटक आयोजना गर्न लागेको फेस्टिभल भएकाले केही चुनौती आउन सक्ने भन्दै अध्यक्ष कार्कीले सबै राजनीतिक दल, व्यवसायी, स्थानीयवासी तथा सरोकारवाला पक्षको साथ र सहयोग आवश्यक रहेको बताए। छलफलबाट प्राप्त रचनात्मक सुझावलाई समेट्दै फेस्टिभललाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

Smart

तपाईको प्रतिक्रिया