इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचन पुनः गराउन माग गर्दै सभापतिका उम्मेदवार सुदिप अधिकारीले निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन्।
क्षेत्रीय अधिवेशनअन्तर्गत मिति २०८३ असोज १५ गते इनरुवास्थित सत्य साई पार्टी प्यालेसमा मतदान सुरु भएको थियो। क्षेत्रीय सभापति पदमा अधिकारीसहित दुई जनाको उम्मेदवारी परेको र सर्वसम्मत सहमति हुन नसकेपछि लोकतान्त्रिक प्रक्रियाअनुसार बिहान ८ बजेदेखि मतदान सुरु गरिएको थियो।
तर, मतदान जारी रहेकै अवस्थामा करिब दिउँसो १२ बजेतिर निर्वाचन व्यवस्थापनका क्रममा अनपेक्षित परिस्थिति सिर्जना भएको अधिकारीले निवेदनमा उल्लेख गरेका छन्। उक्त परिस्थितिका कारण निर्वाचनको मर्यादा, पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था देखिएपछि दुवै प्रतिस्पर्धी उम्मेदवारको सहमति तथा निर्वाचन समितिको रोहवरमा मतदान प्रक्रिया स्थगित गरिएको उनको भनाइ छ।
अधिकारीले पार्टीको आन्तरिक निर्वाचन पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्ने उल्लेख गर्दै क्षेत्र नं. २ का मतदाता प्रतिनिधिहरूको मताधिकार सुनिश्चित गर्न तत्काल पुनः निर्वाचनको मिति तोकी प्रक्रिया अघि बढाउन माग गरेका छन्।
“लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा, चुनावी निष्पक्षताको प्रत्याभूति र मतदाता कार्यकर्ताहरूको मताधिकारको सुरक्षालाई सर्वोपरी ठानी निष्पक्ष वातावरणमा पुनः निर्वाचन गरिनुपर्छ,” अधिकारीले निर्वाचन समितिमा बुझाएको निवेदनमा उल्लेख गरेका छन्।
उनले निवेदनको बोधार्थ नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमिति, सम्बन्धित निर्वाचन समिति तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई समेत दिएका छन्।
अब निर्वाचन समितिले सुनसरी क्षेत्र नं. २ को स्थगित निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय गरी पुनः निर्वाचनको मिति तय गर्ने अपेक्षा गरिएको छ।







