सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएका बेला एक पक्षले जबरजस्ती निर्वाचन प्रक्रिया अघि बढाइए त्यसबाट उत्पन्न हुने झडप वा अप्रिय घटनाको जिम्मेवारी नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु र केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले लिनुपर्ने चेतावनी दिएको छ।
क्षेत्रीय अधिवेशनका क्रममा बुधबार सुन्दरहरैंचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानमा झडप भएपछि अधिवेशन प्रक्रिया विवादित बनेको हो। उक्त घटनामा क्षेत्रीय सभापतिका दाबेदार तथा पूर्वप्रदेश सांसद चुमनारायण तवदार, नेपाल तरुण दलका समुन्द्र (सुलभ) पोखरेल र चेतराज रेग्मी घाइते भएका थिए।
विवादकै बीच कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सह–सचिव सञ्जयकुमार मण्डललाई मोरङ–६ को क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी पत्रअनुसार मण्डललाई १५औँ महाधिवेशनअन्तर्गत मोरङ–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्न संयोजक तोकिएको हो।
मण्डललाई मोरङ जिल्ला कार्यसमितिको निर्णय तथा पार्टी विधान, २०१७ (एघारौँ संशोधनसहित) बमोजिम निर्वाचन समितिसँग आवश्यक समन्वय गरी अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
यसैबीच, क्षेत्रीय अधिवेशन भोलि विराटनगरको बाँसबारीमा गर्ने तयारी रहेको बताइएको छ। यही विषयलाई लिएर एक पक्षले निर्वाचन प्रक्रिया सहमति र निर्धारित विधिअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ। आफूहरूको असहमति हुँदाहुँदै जबरजस्ती निर्वाचन गराउन खोजिए त्यसबाट उत्पन्न हुन सक्ने विवाद, झडप वा अन्य परिस्थितिको जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्ने उक्त पक्षको भनाइ छ।
यसअघि भएको झडपपछि कांग्रेसभित्र आरोप–प्रत्यारोपसमेत तीव्र बनेको छ। केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले क्षेत्रीय सभापति देवराज तामाङको प्रत्यक्ष संलग्नता र योजनामा आफ्ना पक्षका नेता–कार्यकर्तामाथि सुनियोजित आक्रमण भएको आरोप लगाएकी छन्। तामाङ पक्षबाट अधिवेशन बिथोल्ने तथा निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास भएपछि विवाद झडपमा परिणत भएको सङ्ग्रौलाको दाबी छ।
यता क्षेत्रीय सभापति देवराज तामाङले भने सङ्ग्रौलाले लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन्। आफूविरुद्ध लगाइएका आरोप तथ्यहीन भएको दाबी गर्दै तामाङले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन्।
केन्द्रीय कार्यालयले नयाँ संयोजक तोकेपछि अब मण्डलले निर्वाचन समितिसँग समन्वय गर्दै अधिवेशन प्रक्रिया अघि बढाउने भएका छन्। तर, यसअघि भएको झडपको पृष्ठभूमि र दुई पक्षबीच कायम विवादका कारण मोरङ–६ को अधिवेशनलाई लिएर कांग्रेसभित्रको तनाव भने कायमै रहेको देखिएको छ।







