सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन विवाद, असन्तुष्टि र एक पक्षको बहिष्कारबीच सम्पन्न भएको छ। बुढीगंगा गाउँपालिका–३ स्थित राजवंशी खवास सामुदायिक भवनमा भएको निर्वाचनमा कुल ८८१ मतमध्ये ४८२ मत मात्र खसेको छ।
क्षेत्रीय अधिवेशनका लागि ८७१ जना मतदाता तथा क्षेत्रीय सभापतिले मनोनयन गर्न पाउने १० जनासहित कुल ८८१ मत रहेको थियो। तर, एक पक्षका नेता तथा प्रतिनिधिहरू निर्वाचन प्रक्रियामा सहभागी नभएपछि ४८२ मत मात्र खसेको हो।
अधिवेशनअघि नै क्षेत्रीय सभापति देवराज तामाङसहित विभिन्न वडाका सभापति तथा नेताहरूले पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेका थिए। उनीहरूले आफूहरूसँग पर्याप्त समन्वय नगरी अधिवेशन अघि बढाइएको तथा सहमतिको वातावरण नबनाइएको आरोप लगाएका थिए।
विवादको केन्द्रमा कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिका समेत परेको छ। बहिष्कार पक्षका नेताहरूले मोरङ–६ मा पछिल्लो समय बढेको विवादका लागि संग्रौलाको भूमिका जिम्मेवार रहेको आरोप लगाएका छन्। उनीहरूले सहमहामन्त्रीको प्रभाव र हस्तक्षेपका कारण पार्टीभित्रको मतभेद थप गहिरिएको दाबी गरेका छन्।
केही नेताहरूले संग्रौलामाथि ‘दादागिरी’ शैलीमा पार्टी सञ्चालन गर्न खोजेको आरोपसमेत लगाएका छन्। उनीहरूको आरोपमा नेतृत्वले विवाद समाधान गर्नुपर्नेमा उल्टै एक पक्षलाई प्राथमिकता दिँदा मोरङ–६ कांग्रेसमा अहिलेको अवस्था सिर्जना भएको हो।
यसअघि अधिवेशनका क्रममा सुन्दरहरैंचा–४ मा दुई पक्षबीच झडपसमेत भएको थियो। झडपपछि निर्वाचन प्रक्रिया रोकिएको थियो। त्यसपछि कांग्रेस केन्द्रले जिल्ला सह–सचिव सञ्जयकुमार मण्डललाई अधिवेशन सम्पन्न गराउने विशेष जिम्मेवारी दिएको थियो भने निर्वाचनस्थलसमेत परिवर्तन गरी बुढीगंगा–३ मा मतदान गराइएको हो।
एकातर्फ झडपपछि पुनः अधिवेशन सञ्चालन गरिएको छ भने अर्कोतर्फ ठूलो संख्यामा प्रतिनिधि मतदान प्रक्रियाबाट बाहिरिएका छन्। कुल ८८१ मतमध्ये ४८२ मत खस्नुले मोरङ–६ कांग्रेसभित्रको गहिरिँदो असन्तुष्टि र विभाजनलाई थप सतहमा ल्याएको छ।
बहिष्कार पक्षले सहमहामन्त्री संग्रौलाको भूमिकामाथि प्रश्न उठाउँदै विवाद समाधानका लागि नेतृत्वले निष्पक्ष संवाद र सहमतिको बाटो रोज्नुपर्ने बताएको छ। उनीहरूको दाबीमा अहिलेको विवाद केवल अधिवेशन सञ्चालनको विषय नभई पार्टीभित्रको शक्ति संघर्ष र नेतृत्व शैलीसँग समेत जोडिएको छ।
यता, संग्रौलाले भने यसअघि अधिवेशनस्थलमा भएको झडपमा आफू र आफ्ना पक्षका कार्यकर्तामाथि आक्रमण भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेकी थिइन्। त्यसैले संग्रौलामाथि लगाइएका आरोप र उनको पक्षबाट आएका दाबीबीच मोरङ–६ को विवाद थप पेचिलो बनेको देखिन्छ।
एक पक्षको बहिष्कार, झडपपछि निर्वाचनस्थल परिवर्तन, नेतृत्वमाथि आरोप–प्रत्यारोप र ८८१ मध्ये ४८२ मत मात्रै खसेको अवस्थाले मोरङ–६ कांग्रेसको क्षेत्रीय अधिवेशनलाई सामान्य निर्वाचनभन्दा बढी आन्तरिक विवादको घटनाका रूपमा चर्चामा ल्याएको छ।







