भोजपुर । टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। गोगने खेलकुद विकास समितिको आयोजनामा आगामी असोज २१, २२ र २३ गते शिवालय खेल मैदान, गोगनेमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधामा विभिन्न वडाका टोलीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि टिम दर्ताको अन्तिम मिति असोज २० गतेसम्म तोकिएको आयोजकले जनाएको छ।

पुरुषतर्फ प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, महिलातर्फ प्रथम हुने टोलीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट एक–एक जना खेलाडीलाई विधागत पुरस्कारस्वरूप ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन पुरुषतर्फ १ हजार ५ सय ५५ रुपैयाँ र महिलातर्फ १ हजार १ सय ११ रुपैयाँ दर्ता शुल्क तोकिएको छ।

आयोजकका अनुसार प्रत्येक टोलीमा ६ जना खेलाडीसहित एक जना व्यवस्थापक र कोच रहने व्यवस्था गरिएको छ। सहभागी खेलाडीले अनिवार्य रूपमा जर्सी लगाउनुपर्नेछ भने खेलाडीहरूको खाना तथा बसोबासको व्यवस्था सम्बन्धित टोली आफैँले गर्नुपर्नेछ।

प्रतियोगिता नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछ। सहभागी खेलाडीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने आयोजकले जनाएको छ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने तथा खेलाडी घाइते भएमा स्वयं खेलाडी नै जिम्मेवार हुने नियम राखिएको छ।

प्रतियोगितामा सहभागी हुन तथा थप जानकारीका लागि आयोजक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ (९७४९२०१४३६) र सचिव भुमिहाङ राई (९७६५२६४४७८) लाई सम्पर्क गर्न सकिनेछ।

आयोजक गोगने खेलकुद विकास समितिले प्रतियोगितामा सहभागी भई खेलकुदको विकास तथा स्थानीय खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग गर्न सम्बन्धित सबै टोलीलाई आग्रह गरेको छ।

Smart

तपाईको प्रतिक्रिया