इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीलाई व्यापार समितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य नवीन रिजालको सभापतित्वमा गठित व्यापार समितिमा भण्डारीलाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको हो।
मनोनयनपछि भण्डारीले सोमबार पदस्थापन गर्दै व्यापार समितिको पहिलो बैठकमा सहभागिता जनाएकी छन्।
महासंघले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, व्यापार सहजीकरण, व्यापार क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि पहल गर्ने उद्देश्यले व्यापार समिति गठन गरेको हो। समितिले व्यवसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै व्यापार विस्तारका लागि आवश्यक नीतिगत सुझाव तयार गर्ने तथा सम्बन्धित निकायसँग समन्वय गर्ने भूमिका निर्वाह गर्नेछ।
इटहरी उद्योग वाणिज्य संघको नेतृत्व गर्दै आएकी भण्डारीको महासंघको व्यापार समितिमा भएको मनोनयनले इटहरी तथा कोशी प्रदेशका उद्योगी–व्यवसायीका व्यापारसम्बन्धी मुद्दालाई राष्ट्रिय तहमा उठाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।







