इटहरी । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बिमक समिति, नेपाल लाइफ इन्स्योरेन्स शाखा समिति इटहरीको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुरेन्द्रकुमार लिम्बुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सञ्जयकुमार राउत, सचिवमा शालिकराम कार्की, सहसचिवमा कमला चौहान र कोषाध्यक्षमा प्रार्थना नेपाल चयन भएका छन्। सदस्यहरूमा संत्रामाया तामाङ, सूर्यकला राई, सन्जु यादव, भीमकुमारी सापकोटालगायत रहेका छन्।
अधिवेशनको उद्घाटन कार्यक्रम निवर्तमान अध्यक्ष निश्चल खुलालको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले बीमा क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सेवाग्राहीलाई सही सूचना र आवश्यकताअनुसार उपयुक्त बीमा योजनाबारे जानकारी गराउँदै बीमाप्रतिको विश्वास अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
अभिकर्ताहरूको पेशागत हकहित, क्षमता विकास तथा बीमा क्षेत्रको सुधारका लागि संघले निरन्तर पहल गर्दै आएको पनि उनले बताए।
अधिवेशनमा नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सहभागीहरूले बीमा अभिकर्ताबीचको एकता, सहकार्य र पेशागत दक्षतालाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा लोकदोहोरी गायिका गंगा गौतम आचार्यले सांगीतिक प्रस्तुति दिएकी थिइन्। कार्यक्रममा बीमा अभिकर्ता, विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीलगायतको उल्लेख्य सहभागिता रहेको थियो।







