काठमाडौं । ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ ।
इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिले प्रयोग गर्न खोजेको ‘पर्फेक्ट सेन्टर फिल्ज’ ट्रेडमार्क झुक्किन सक्ने गरी मिल्दोजुल्दो रहेको सर्वोच्च अदालतले ठहर गरेको थियो ।
सर्वोच्चको फैसलापछि उद्योग विभागले पर्फेक्ट फुड्सका नाममा दर्ता रहेको उक्त ट्रेडमार्क बदर गरेको हो। पर्फेक्ट फुड्सले चुइङ्गमका लागि वर्ग ३० अन्तर्गत आवेदन नम्बर ०६१८२२ मार्फत ट्रेडमार्क दर्ता प्रक्रिया अघि बढाएको थियो ।
मुद्दा नम्बर ०७७-सीआई-०३०१ मा सर्वोच्चले ट्रेडमार्कका शब्द मात्र तुलना नगरी त्यसको समग्र प्रस्तुति र सामान्य उपभोक्तामा पर्न सक्ने प्रभावलाई समेत आधार बनाएको थियो । अदालतले ‘पर्फेक्ट सेन्टर फिल्ज’ र ‘सेन्टर फ्रुट’बीच पर्याप्त समानता रहेको र त्यसबाट सामान्य उपभोक्ता भ्रमित हुन सक्ने निष्कर्ष निकालेको हो ।
फैसलाको कानुनी विश्लेषणअनुसार ट्रेडमार्कको समानता निर्धारण गर्दा नाम वा शब्द मात्र नभई उच्चारण, दृश्य स्वरूप, उत्पादनको प्रकृति, बिक्री हुने स्थान, खरिदका क्रममा उपभोक्ताले दिने ध्यान तथा बजारमा पर्ने समग्र प्रभावलाई समेत मूल्यांकन गर्नुपर्छ।
विवादका क्रममा पर्फेक्ट फुड्सले आफ्नो कम्पनीको नाम, प्याकेजिङ तथा ट्रेडमार्कमा प्रयोग भएका अन्य शब्द फरक रहेको दाबी गरेको थियो । ‘सेन्टर’ र ‘फ्रुट’ जस्ता शब्द सामान्य रूपमा प्रयोग हुने भएकाले ती शब्द प्रयोग हुँदैमा उपभोक्तामा भ्रम सिर्जना नहुने कम्पनीको तर्क थियो।
तर सर्वोच्चले ट्रेडमार्कमा प्रयोग भएका शब्दलाई अलग-अलग रूपमा हेर्नुभन्दा त्यसले समग्र रूपमा उपभोक्तामा पार्ने प्रभावलाई प्राथमिकता दिएको छ। लामो समयदेखि बजारमा प्रयोग हुँदै आएको ‘सेन्टर फ्रुट’ले उपभोक्तामाझ विशिष्ट व्यापारिक पहिचान बनाइसकेको अवस्थामा थप शब्द जोड्दैमा भ्रम सिर्जना हुने सम्भावना हट्न नसक्ने अदालतको निष्कर्ष छ ।
व्यावसायिक क्षेत्रमा वकालत गर्दै आएका कानुन व्यवसायी निरव ज्ञवालीले यो फैसलाले ट्रेडमार्क संरक्षणका क्षेत्रमा महत्वपूर्ण नजिर स्थापित गरेको बताएका छन् । उनका अनुसार स्थापित ब्रान्डसँग मिल्दोजुल्दो चिन्ह प्रयोग गरी उपभोक्तामा भ्रम सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फैसला महत्वपूर्ण छ ।
नेपालको पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ ले पनि निश्चित अवस्थामा दर्ता भइसकेको ट्रेडमार्क बदर गर्न सकिने व्यवस्था गरेको छ। ऐनको दफा १८(३) ले त्यस्तो ट्रेडमार्क बदर गर्ने अधिकार उद्योग विभागलाई दिएको छ । दफा १९ मा बदर भएको ट्रेडमार्क प्रयोग गरी कारोबार गरेमा कानुनबमोजिम जरिवाना तथा सम्बन्धित सामान जफत गर्न सकिने व्यवस्था छ ।
यसैबीच पर्फेट्टी भ्यान मेली नेपालले आफ्नो ट्रेडमार्क र उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कदम चाल्ने जनाएको छ । कम्पनीका अनुसार वास्तविक ‘सेन्टर फ्रुट’ उत्पादन भने उद्योग विभागको उक्त निर्णयबाट प्रभावित भएको छैन ।
कानुनी जानकारहरूका अनुसार यो फैसलाले ट्रेडमार्क दर्ता हुँदैमा त्यसको प्रयोग स्वतः सुरक्षित नहुने सन्देश दिएको छ । स्थापित ब्रान्डको पहिचान र उपभोक्तामा भ्रम सिर्जना हुन सक्ने सम्भावनालाई बेवास्ता गरी दर्ता गरिएको ट्रेडमार्क पछि बदर हुन सक्ने देखिएको छ ।
फैसलालाई नेपालमा व्यापारिक चिन्ह तथा बौद्धिक सम्पत्तिको संरक्षणका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । स्थापित स्वदेशी तथा विदेशी ब्रान्डको नाम, लोगो, प्याकेजिङ र समग्र व्यापारिक पहिचानसँग मिल्दोजुल्दो चिन्ह प्रयोगसम्बन्धी विवादका बीच यस फैसलाले व्यवसायी तथा नियामक निकायलाई समेत महत्वपूर्ण सन्देश दिएको छ ।







