धरान । राष्ट्रिय समाचार समिति (रासस) की सुनसरी जिल्ला समाचारदाता सङ्गीता राई यस वर्षको युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएकी छन्।
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा राईलाई नगद १० हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरेको हो।
साहित्य, पत्रकारिता तथा सिर्जनात्मक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।
सोही अवसरमा कवि भूपिन खड्काको निबन्धसङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’ लाई संयुक्त रूपमा विमल गुरुङ कृति पुरस्कार प्रदान गरिएको छ। दुवै सर्जकलाई दुई लाख रुपैयाँ नगद तथा ताम्रपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय कविता महोत्सवका विजेतालाई समेत नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।






