सुन्दरहरैँचा (मोरङ) : नामै सुन्दर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण र धार्मिक तथा सांस्कृतिक विविधताले सजिएको सुन्दरहरैँचा नगरपालिका पछिल्लो समय पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। हरियाली वनजङ्गल, मनोरम सिमसार, ऐतिहासिक गढी, धार्मिक मठमन्दिर, गौशाला, जलाधार क्षेत्र र रमणीय रिसोर्टहरू यस नगरका विशेष पहिचान हुन्। मोरङको पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सुन्दरहरैँचा प्राकृतिक, धार्मिक, ऐतिहासिक र मनोरञ्जनात्मक पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको नगरपालिका हो। यहाँका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। परिवारसहित घुमफिर, वनभोज, धार्मिक दर्शन, प्रकृति अवलोकन तथा अध्ययन–अनुसन्धानका लागि समेत यो क्षेत्र उपयुक्त गन्तव्य बन्दै गएको छ।

नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको चर्चा गर्दा सबैभन्दा पहिले हसिना सिमसारको नाम आउँछ। सुन्दरहरैँचा–५ बाँसबारी क्षेत्रबाट करिब पाँच किलोमिटर उत्तरमा रहेको यो सिमसार करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ। प्राकृतिक सौन्दर्य, विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु तथा पशुपन्छीको बासस्थान रहेको हसिना सिमसारमा बुद्ध विहार, बुद्ध पोखरी, बुढासुब्बा मन्दिर, नागपोखरी, साकेला थान तथा शिवालयलगायतका धार्मिक संरचना रहेका छन्। मिनी चिडियाखाना, कलात्मक संरचना र साना–ठूला पोखरीले समेत यसको आकर्षण बढाएका छन्। प्रकृति र धार्मिक आस्थाको संगमका रूपमा हसिना सिमसारले पर्यटकलाई आकर्षित गरिरहेको छ।

त्यस्तै, बाघझोडा सिमसार सुन्दरहरैँचाको अर्को महत्वपूर्ण प्राकृतिक सम्पदा हो। खोर्साने क्षेत्रबाट उत्तरतर्फ रहेको यो सिमसार करिब सात बिघा पाँच कट्ठाभन्दा बढी क्षेत्रमा फैलिएको छ। सिमसारसँग जोडिएको वनक्षेत्र, विभिन्न चराचुरुङ्गी, वनस्पति तथा जैविक विविधताले यस क्षेत्रलाई प्रकृतिप्रेमीका लागि आकर्षक बनाएको छ। यहाँ धार्मिक मन्दिर, किरात राई समुदायको साकेला थान तथा खेलमैदानसमेत रहेका छन्। मोरङ र सुनसरीका विभिन्न स्थानबाट वनभोज तथा घुमफिरका लागि मानिसहरू यहाँ आउने गरेका छन्।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किचकगढी

सुन्दरहरैँचा–१ डाँगीटोल क्षेत्रमा रहेको किचकगढी नगरको महत्वपूर्ण ऐतिहासिक तथा पुरातात्विक सम्पदामध्ये एक हो। महाभारतकालीन कथासँग जोडिएको किचकको वध भएको स्थानका रूपमा स्थानीय जनविश्वासमा परिचित यस क्षेत्रमा हरेक वर्ष वैशाख १४ गते परम्परागत पूजाआजासहित मेला लाग्ने गरेको छ। ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षण, उत्खनन, प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके धार्मिक तथा ऐतिहासिक पर्यटनको नयाँ सम्भावना खुल्न सक्छ।

त्यसैगरी, सुन्दरहरैँचा–३ मा रहेको शेषनारायण दिव्यधाम पनि धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र हो। धार्मिक वातावरण, मन्दिर तथा आध्यात्मिक महत्वका कारण यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ।

भुल्के जलाधार क्षेत्र पनि नगरको प्राकृतिक सम्पदाका रूपमा महत्वपूर्ण छ। जलस्रोत, हरियाली र प्राकृतिक वातावरणले भरिएको यस क्षेत्रको संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकास गर्न सके प्रकृतिमा रमाउन चाहने पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ। यसैगरी कालीखोला क्षेत्र, बासुकी जलाधार क्षेत्र तथा अन्य सामुदायिक वन र जलाधार क्षेत्रले समेत नगरको प्राकृतिक पर्यटनलाई थप समृद्ध बनाउने सम्भावना बोकेका छन्।

नयाँ वृन्दावन गौशाला : धार्मिक पर्यटनको भव्य पहिचान

सुन्दरहरैँचा–५ स्थित नयाँ वृन्दावन गौशाला पछिल्लो समय धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको छ। श्री राधेश्याम सेवा ट्रस्टमार्फत धार्मिक तथा पुरातात्विक महत्वलाई उजागर गर्ने उद्देश्यले अघि बढाइएको यस अभियानले छोटो समयमै ठूलो क्षेत्रफल ओगटेको छ।

चार कठ्ठा जमिनबाट सुरु भएको नयाँ वृन्दावन गौशाला अहिले सात बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। जमिनको सतहबाट १३ फिट अग्लो संरचना निर्माण गरी त्यसमाथि ३६ फिट ३ इन्च अग्लो गाईको विशाल प्रतिमा निर्माण गरिएको छ। राधाकृष्ण मन्दिर, गौसंरक्षण तथा धार्मिक संरचनाहरू यसका प्रमुख आकर्षण हुन्।

द्वापरयुगमा भगवान् श्रीकृष्णले लीलाहरू देखाएको वृन्दावनको झल्को दिने गरी धार्मिक ग्राम निर्माण गर्ने परिकल्पनासहित अघि बढाइएको यस क्षेत्रको भौतिक तथा धार्मिक महिमा उच्च भए पनि पर्याप्त प्रचारप्रसार हुन नसकेको संरक्षक दीनबन्धु शास्त्री बताउँछन्। व्यवस्थित प्रचारप्रसार र थप पूर्वाधार विकास गर्न सके नयाँ वृन्दावन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटकको आकर्षण बन्न सक्ने सम्भावना छ।

पाथीभरा मन्दिर, कृष्ण प्रणामी मन्दिर र साकेला थान : धार्मिक तथा सांस्कृतिक विविधता

सुन्दरहरैँचा धार्मिक सहिष्णुता र बहुसांस्कृतिक पहिचान भएको नगर पनि हो। नगरभित्र रहेका पाथीभरा मन्दिर, सालकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर, बाघझोडा क्षेत्रको साकेला थानलगायतका धार्मिक तथा सांस्कृतिक स्थलले नगरको मौलिक पहिचानलाई थप बलियो बनाएका छन्।

हिन्दु, बौद्ध, किरात, इस्लाम तथा इसाई धर्मावलम्बीका आस्थाका केन्द्र र विभिन्न ग्रामथान तथा मठमन्दिरले सुन्दरहरैँचाको धार्मिक विविधता झल्काउँछन्। यी स्थलको संरक्षण र प्रवर्द्धनले धार्मिक पर्यटनसँगै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउन सक्छ।

पर्यटन विकासले बदल्न सक्छ नगरको आर्थिक अवस्था

सुन्दरहरैँचा नगरपालिकामा पर्यटकीय सम्भावना बोकेका स्थलहरूको सूची लामै छ। हसिना सिमसारदेखि बाघझोडा, किचकगढीदेखि शेषनारायण धाम, भुल्के जलाधारदेखि नयाँ वृन्दावनसम्मका स्थललाई एउटै पर्यटन सञ्जालमा जोड्न सकिने सम्भावना छ।

नगरपालिकाले विगतका नीति तथा कार्यक्रममा हसिना सिमसार, बाघझोडा, भुल्के जलाधार, कालीखोला, नयाँ वृन्दावन गौशाला, किचकगढी, साकेला थान, शेषनारायण दिव्यधाम तथा छपोखरीलगायत क्षेत्रको विकास र प्रवर्द्धनलाई प्राथमिकता दिएको देखिन्छ। बाघझोडादेखि हसिनासम्म पर्यटकीय करिडोर तथा साइकल पर्यटनको सम्भावनासमेत अघि सारिएको छ।

तर सम्भावना भएर मात्रै पर्यटनको विकास हुँदैन। पर्यटकीय स्थलसम्म पुग्ने सहज सडक, व्यवस्थित पार्किङ, शौचालय, खानेपानी, सूचना केन्द्र, सुरक्षा, सरसफाइ, विश्रामस्थल र स्थानीय उत्पादनको बजारीकरणमा ध्यान दिन आवश्यक छ। साथै प्रत्येक स्थलको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व झल्किने गरी प्रचारप्रसार गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ।

पर्यटनको विकाससँगै स्थानीय युवाले रोजगारी पाउने, होटल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार हुने, कृषि तथा स्थानीय उत्पादनले बजार पाउने र नगरको समग्र आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गर्न सकिन्छ।

सुन्दरहरैँचालाई केवल एउटा बजार वा राजमार्ग आसपासको सहरी क्षेत्रका रूपमा मात्र नभई उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्र समेटिएको समग्र पर्यटकीय नगरका रूपमा विकास गर्न आवश्यक छ।

साँच्चै सुन्दर छ सुन्दरहरैँचा !

प्रकृतिको अनुपम उपहार हसिना सिमसार, जैविक विविधताले भरिएको बाघझोडा, इतिहास बोकेको किचकगढी, धार्मिक आस्थाको शेषनारायण धाम, विशाल गाईको प्रतिमाले परिचित नयाँ वृन्दावन, भुल्के जलाधार, पाथीभरा मन्दिर र रमणीय रिसोर्टहरू। यी सबैले सुन्दरहरैँचाको पहिचानलाई फराकिलो बनाइरहेका छन्।

यहाँ घुम्नका लागि प्राकृतिक सुन्दरता छ, दर्शन गर्नका लागि धार्मिक धाम छन्, बुझ्नका लागि इतिहास छ, रमाउनका लागि हरियाली छ र विकासका लागि पर्यटनको अपार सम्भावना छ।

यी सम्पदाको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्न सकियो भने सुन्दरहरैँचा कोशी प्रदेशकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ। नगरको नाम मात्रै सुन्दर होइन, यहाँका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा पनि साँच्चै सुन्दर छन्।

तपाईको प्रतिक्रिया