काठमाडौँ । विपद्का बेला सूचना मानिसका लागि खाना, बास र अन्य आधारभूत आवश्यकताजस्तै महत्वपूर्ण हुन्छ। सही समयमा प्राप्त सही सूचनाले मानिसलाई सम्भावित जोखिमबाट बचाउनुका साथै ठूलो जनधनको क्षति न्यूनीकरण गर्न सहयोग गर्छ। त्यसैले पछिल्लो समय विश्वभर विपद् रिपोर्टिङलाई पत्रकारिताको छुट्टै र महत्वपूर्ण विधाका रूपमा अभ्यास गर्न थालिएको छ।
विपद् प्राकृतिक वा मानवनिर्मित दुवै प्रकारका हुन सक्छन्। बाढी, पहिरो, भूकम्प, चट्याङ, आँधी, सुनामी, खडेरी तथा शीतलहरजस्ता घटना प्राकृतिक विपद्मा पर्छन् भने युद्ध, द्वन्द्व, यातायात दुर्घटना र आगलागीजस्ता घटना मानवनिर्मित विपद्का उदाहरण हुन्।
विपद्का बेला पत्रकारिता सामान्य अवस्थाको भन्दा निकै संवेदनशील र जोखिमपूर्ण हुन्छ। पत्रकारले घटनास्थलबाट तत्काल सूचना सम्प्रेषण गर्नुपर्ने हुन्छ भने आफ्नो सुरक्षाको समेत ख्याल गर्नुपर्छ। २०७२ सालको भूकम्पका समयमा सञ्चारकर्मीहरुले जोखिमपूर्ण अवस्थामा रहेर पनि नागरिकलाई आवश्यक सूचना प्रवाह गरेका थिए।
विपद् रिपोर्टिङलाई सामान्यतया विपद्अघिको रिपोर्टिङ, विपद्को समयको रिपोर्टिङ र विपद्पछिको रिपोर्टिङ गरी तीन चरणमा हेर्न सकिन्छ।
विपद्अघि पत्रकारिताको मुख्य भूमिका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउनु हो। भूकम्प कहिले आउँछ भनेर पूर्वानुमान गर्न नसकिए पनि सुरक्षित संरचना निर्माण, जोखिमयुक्त क्षेत्रमा बस्ती नबसाल्ने, बाढी तथा पहिरोबाट जोगिने उपायलगायतका विषयमा निरन्तर सूचना दिन सकिन्छ। जलवायु परिवर्तनका कारण हिमताल पग्लने तथा त्यसबाट हुनसक्ने जोखिमबारे पनि समयमै जनचेतना फैलाउन सकिन्छ।
विपद् भइरहेकै समयमा भने सूचनाको महत्व अझ बढ्छ। अत्तालिएका नागरिकलाई सुरक्षित स्थान, उद्धार, स्वास्थ्य सेवा, खानेपानी तथा अत्यावश्यक सेवाको अवस्थाबारे तत्काल र विश्वसनीय सूचना आवश्यक हुन्छ। यस्तो अवस्थामा रेडियो, टेलिभिजनसँगै सामाजिक सञ्जाल पनि महत्वपूर्ण सूचना माध्यम बनेका छन्।
तर विपद्का बेला पत्रकारले सबैभन्दा पहिले आफ्नो सुरक्षा सुनिश्चित गर्नुपर्छ। सम्भव भएसम्म घटनास्थलमा पुगेर वास्तविक अवस्था बुझ्नु आवश्यक हुन्छ। नागरिकले कसरी आफूलाई सुरक्षित राखेका छन्, कहाँ उद्धार आवश्यक छ, अत्यावश्यक सेवा पुगेको छ कि छैन भन्नेजस्ता विषयको रिपोर्टिङले सरकार तथा उद्धार निकायलाई समेत प्रभावकारी काम गर्न सहयोग पुर्याउँछ।
२०७२ सालको भूकम्पका समयमा काठमाडौँका असन, बागबजार र नयाँ सडकजस्ता घना बस्तीका नागरिक खुलामञ्चमा जम्मा भएका थिए। त्यतिबेला सञ्चारमाध्यमले घर, पर्खाल वा अन्य संरचनाको नजिक नबस्न र खुला स्थानमा रहन सुझाव दिएका थिए। यस्तो सूचनाले नागरिकलाई सुरक्षित रहन महत्वपूर्ण भूमिका खेलेको थियो।
विपद्पछिको रिपोर्टिङमा भने तत्कालीन उद्धारदेखि राहत, पुनःस्थापना र पुनर्निर्माणसम्मका विषय समेटिन्छन्। अहिले भोटेकोशी बाढीपछि पनि पत्रकारिताको भूमिका यही चरणमा केन्द्रित हुनुपर्ने देखिन्छ।
विपद्पछि कति क्षति भयो, पीडितहरु कहाँ र कस्तो अवस्थामा छन्, उनीहरुले राहत पाए कि पाएनन्, अत्यावश्यक सेवा पुगेको छ कि छैन तथा सरकारले पुनःस्थापनाका लागि के गरिरहेको छ भन्ने विषयमा निरन्तर निगरानी आवश्यक हुन्छ।
परिवारका सदस्य गुमाएका, घरबास तथा सम्पत्ति गुमाएका नागरिकको अवस्था सार्वजनिक गर्नु र उनीहरुका समस्यातर्फ सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउनु विपद्पछिको पत्रकारिताको महत्वपूर्ण जिम्मेवारी हो। तत्कालीन राहतसँगै दीर्घकालीन तथा स्थायी पुनःस्थापनाका विषयलाई पनि सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउनुपर्छ।
विपद् रिपोर्टिङको उद्देश्य केवल घटना सुनाउनु वा क्षतिको विवरण सार्वजनिक गर्नु मात्र होइन। विपद् आउनुअघि नागरिकलाई सचेत गराउने, विपद्का बेला जीवन जोगाउने सूचना दिने र विपद्पछि पीडितको पुनःस्थापना तथा पुनर्निर्माणमा राज्यलाई जवाफदेही बनाउने काम पनि पत्रकारिताको महत्वपूर्ण दायित्व हो।
त्यसैले विपद्का बेला पत्रकारिता सूचना प्रवाहको माध्यम मात्रै नभई जीवन बचाउने, जोखिम घटाउने र पीडितको आवाज राज्यसम्म पुर्याउने महत्वपूर्ण माध्यम बन्न पुग्छ।







