सप्तरी : सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परी रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बुधबार बिहान १ बजे बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठमाथि हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट बच्न भागेका उनका छोरा अर्जुन भने सुरक्षित रहेका छन् । एक सातादेखि हात्तीको ठूलो बथान रुपनी क्षेत्रमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् । यसअघि गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट शम्भुनाथ नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो ।






