मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा रहेको हिमालय इङ्लिस स्कुलले विद्यार्थीका विचार, सपना, प्रतिभा र अनुभवलाई अभिव्यक्त गर्ने उद्देश्यसहित ‘हिमालय टक शो’ सुरु गरेको छ।

विद्यार्थीहरूलाई आफ्ना विचार खुलस्त रूपमा राख्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास, सिर्जनात्मक क्षमता र अभिव्यक्ति कला विकास गर्ने लक्ष्यसहित टक शो सञ्चालनमा ल्याइएको विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले जानकारी दिए।

खनालका अनुसार ‘हिमालय टक शो’ विद्यार्थीहरूका लागि आफ्ना सपना, सोच, विद्यालय जीवनका रमाइला अनुभव तथा विभिन्न विषयमा आफ्ना धारणा बाँड्ने साझा मञ्च बन्नेछ। यसले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्न र उनीहरूमा बोल्ने, सोच्ने तथा आफ्ना कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमताको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यालयको शैक्षिक गतिविधिलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, सिर्जनशीलता र अतिरिक्त क्रियाकलापसँग जोड्ने उद्देश्यले टक शो सुरु गरिएको विद्यालयले जनाएको छ।

‘हिमालय टक शो’ मार्फत विद्यार्थीहरूले आफ्ना अनुभव र विचार प्रस्तुत गर्दै सिक्ने, सिकाउने तथा एकअर्काबाट प्रेरणा लिने अवसर प्राप्त गर्ने विश्वास विद्यालयले लिएको छ।

तपाईको प्रतिक्रिया