मोरङ : कोशी नदीको त्रिवेणीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेश गरेको छ।
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा.लि.द्वारा सञ्चालित यात्रुवाहक ओबीएम पानीबोट दुर्घटना भएपछि सरकारले घटनाको वास्तविकता पत्ता लगाउन समिति गठन गरेको हो।
समितिले दुर्घटनास्थलको स्थलगत निरीक्षण, सरोकारवालासँग छलफल तथा घटनासँग सम्बन्धित कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ।
प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र सम्भावित कारण, पानीबोटको प्राविधिक अवस्था तथा सञ्चालन प्रक्रिया, सम्बन्धित निकायहरूको भूमिका र उद्धार तथा राहत व्यवस्थापनका विषय समेटिएका छन्। साथै, आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रस्तुत गरिएको छ।
समितिले प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन प्रदेश सरकारलाई अनुरोध गरेको छ।
यसैबीच, गत कात्तिक ८ गते दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरातर्फ आउँदै गरेको बराह त्रिवेणी जल यातायात प्रा.लि.को आउटबोर्ड मोटर (ओबीएम) पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा दुर्घटनामा परेको थियो।
चालकसहित १५ जना सवार उक्त पानीबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्। दुर्घटनामा परी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, उदयपुरको बेलका नगरपालिका–९ का ५५ वर्षीय रत्नबहादुर नेपाली र भोजपुरको हतुवागढी गाउँपालिका–७ की पाँच वर्षीया आर्या राईको उपचारका क्रममा चतरा अस्पतालमा मृत्यु भएको थियो।
त्यस्तै, झापाको कन्काई नगरपालिका–४ का सात वर्षीय सुयोग मगर, २१ वर्षीया प्रमिला मगर र सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २३ वर्षीया मनिका राई अझै बेपत्ता छन्।
दुर्घटनामा परेका अन्य आठ जना यात्रुको सकुशल उद्धार गरिएको थियो। उनीहरू उपचारपछि घर फर्किसकेका छन्। पानीबोटका २४ वर्षीय चालक सुमन मगरलाई भने प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखेको छ।
छानबिन समितिको प्रतिवेदनले दुर्घटनाको कारण पहिचान गर्नुका साथै नदीमा सञ्चालन हुने जलयातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन आगामी दिनमा चाल्नुपर्ने कदमबारे समेत सरकारलाई सुझाव दिएको छ।






