मोरङ : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम ४–१४२औँ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। समारोहमा ४५ महिला र १६५ पुरुष गरी कुल २१० जना प्रशिक्षार्थी प्रहरी जवान दीक्षित भएका छन्।
दीक्षान्त समारोहमा प्रशिक्षार्थी प्रहरी जवानहरूले प्रमुख अतिथि खनाललाई सलामी अर्पण गरेका थिए। त्यसपछि प्रमुख अतिथिबाट दीक्षान्त कवाजको निरीक्षण गरिएको थियो। समारोहमा विभिन्न सुरक्षा निकायका उच्च पदस्थ अधिकारी, सरकारी निकायका प्रतिनिधि तथा प्रशिक्षार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापा, राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेशका अनुसन्धान निर्देशक इन्द्रसिंह लामा, नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर इटहरीका सह–चिफ अफ स्टाफ महासेनानी शैलेन्द्र कोइरालालगायत विभिन्न सुरक्षा निकायका वरिष्ठ अधिकृतहरूको समारोहमा सहभागिता थियो।
२०८२ मंसिर १७ गते उद्घाटन भएको उक्त आधारभूत तालिम पूरा गरेसँगै दीक्षित प्रहरी जवानहरूले राष्ट्रिय झण्डा, आ–आफ्नो धार्मिक परम्पराअनुसार धर्मग्रन्थ, प्रहरी झण्डा तथा खुकुरी स्पर्श गरी नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहने र इमानदारीपूर्वक पदीय जिम्मेवारी निर्वाह गर्ने शपथ ग्रहण गरेका थिए। कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक नवीन राईले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि डीआईजी खनालले तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थी प्रहरी जवान तथा उत्कृष्ट प्रशिक्षकहरूलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरे।
दीक्षित प्रहरी जवानहरूलाई सम्बोधन गर्दै खनालले प्रहरी सेवामा प्रवेश गर्नु केवल रोजगारी प्राप्त गर्नु मात्र नभई राष्ट्र र नागरिकप्रतिको गहन जिम्मेवारी वहन गर्नु पनि भएको बताए। उनले आगामी कार्यक्षेत्रमा व्यावसायिक दक्षता, उच्च नैतिकता, निष्ठा, अनुशासन, इमानदारी र जनउत्तरदायी भावनाका साथ कर्तव्य निर्वाह गर्न निर्देशन दिए। प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धि हुने गरी जिम्मेवारी पूरा गर्नसमेत उनले आग्रह गरे।
कार्यक्रममा समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दीक्षित हुने प्रहरी जवानहरूलाई शपथ ग्रहण गराएका थिए। उनले समारोहमा उपस्थित प्रमुख अतिथिलगायत सम्पूर्ण महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै दीक्षित प्रहरी जवानहरूलाई असहाय, आवश्यकतामा परेका तथा आवाजविहीन नागरिकका लागि सुरक्षा कवच, मानव अधिकारका संरक्षक, विधिको शासनका संवाहक तथा समग्र मानव सुरक्षाका आधार बन्न शुभकामना व्यक्त गरे।
समारोहको अन्त्यमा प्रमुख अतिथि तथा प्रशिक्षार्थीका अभिभावकबाट दीक्षित प्रहरी जवानहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएसँगै दीक्षान्त समारोह सम्पन्न भएको थियो।






