इटहरी । बालविवाह, कम उमेरमा हुने तथा जबर्जस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस–२०२६ को अवसरमा सुनसरीको इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार (नोभेम्बर २७) इटहरीस्थित होटल इन टुरिस्ट प्यालेसमा आयोजित कार्यक्रममा बालविवाह न्यूनीकरण, बालअधिकार संरक्षण तथा बालविवाहमुक्त समाज निर्माणका लागि सरोकारवाला निकायहरूको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरिएको थियो।

इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता फरवार्डका कार्यक्रम संयोजक गोविन्द चौधरीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन दिवाकर सिंहले गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् (NCRC) अन्तर्गत कोशी प्रदेशको बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) का समन्वय अधिकृत सुमन अधिकारीले विशेष प्रस्तुति दिनुभएको थियो। उहाँले बालबालिकाको अधिकार संरक्षण, बालविवाह तथा जबर्जस्ती विवाहका कारण र त्यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा भविष्यमा पार्ने असरबारे प्रस्तुतीकरण गर्नुभएको थियो। साथै, बालविवाह रोकथाम तथा बालबालिकाको संरक्षणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।

कार्यक्रममा इटहरी र दुहबीका बालकल्याण अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्रहरी कार्यालय धरानअन्तर्गत बालबालिका खोजतलास केन्द्रका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियाका क्रममा बालविवाह नेपाली समाजमा विद्यमान गम्भीर सामाजिक समस्या र कानुनी अपराध भएको उल्लेख गर्दै यसको अन्त्यका लागि परिवार, समुदाय, स्थानीय सरकार, प्रहरी प्रशासन, सामाजिक संघसंस्था तथा सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो।

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा मानसिक र शारीरिक विकासमा नकारात्मक असर पार्नुका साथै उनीहरूको सुरक्षित र सम्मानित भविष्यमा अवरोध सिर्जना गर्ने भएकाले समुदायस्तरबाटै सचेतना र खबरदारी आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमका अवसरमा सहभागीहरूले बालविवाहविरुद्ध दृढतापूर्वक उभिने, आफ्नो परिवार तथा समुदायमा बालविवाह हुन नदिने, बालविवाह गराउने प्रयास वा योजना थाहा पाएमा नजिकको प्रहरी चौकी वा सम्बन्धित सरकारी निकायमा जानकारी गराउने तथा बालबालिकाको शिक्षा, सुरक्षा र सम्मानित भविष्यका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र (१०४), कोशी प्रदेश, Just Rights for Children र फरवार्डको संस्थागत सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

बालविवाहमुक्त नेपाल निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न कार्यक्रममा ‘म बालविवाहविरुद्ध उभिन्छु, बालविवाहमुक्त नेपाल निर्माण गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने सन्देश प्रवाह गरिएको थियो।

तपाईको प्रतिक्रिया