मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–६, गछियास्थित साजिलाल माध्यमिक विद्यालयको स्वामित्वमा रहेको बजार क्षेत्रको बहुमूल्य ९ कठ्ठा जग्गा प्रयोग गर्दै आएको सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले वर्षौँदेखि सम्झौताअनुसारको भाडा नबुझाएको पाइएको छ। विद्यालयसँग सम्झौता गरी जग्गा उपयोग गर्दै भवनसमेत निर्माण गरेको सङ्घले २०७७ सालदेखि हालसम्म भाडा नतिरेको विद्यालय स्रोतले जनाएको छ। गछिया बजारको मुख्य क्षेत्रस्थित साजिलाल मिनी मार्केटसँगै जोडिएको विद्यालयको उक्त ९ कठ्ठा जग्गा उद्योग वाणिज्य सङ्घले वार्षिक जम्मा ७ हजार रुपैयाँ भाडा बुझाउने सर्तमा प्रयोग गर्दै आएको थियो। सम्झौतामा प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने व्यवस्था भए पनि सङ्घले लामो समयदेखि भाडा भुक्तानी नगरेको विद्यालयको भनाइ छ।

उक्त जग्गामा उद्योग वाणिज्य सङ्घले नगरपालिकामार्फत सरकारी कोषको रकमसमेत प्रयोग गरी भवन निर्माण गरेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ। तर, सार्वजनिक शैक्षिक संस्थाको स्वामित्वमा रहेको जग्गा उपयोग गरी भौतिक संरचनासमेत निर्माण गरेको संस्थाले सम्झौताअनुसारको न्यूनतम भाडासमेत नबुझाउनु आफैँमा गम्भीर विषय बनेको छ। विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेका अनुसार जग्गाको बक्यौता भाडा असुलीका लागि सङ्घलाई पटक–पटक आग्रह तथा ताकेता गरिए पनि हालसम्म भुक्तानी भएको छैन। ‘सम्झौताअनुसार भाडा बुझाउन हामीले धेरै पटक ताकेता गरिसक्यौँ, तर सङ्घबाट कुनै सुनुवाइ र भुक्तानी भएको छैन,’ प्रधानाध्यापक काफ्लेले भने।

यता, सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश थापाले भने यस विषयलाई बेवास्ता नगर्ने बताएका छन्। उनले अबको हप्ता/१० दिनभित्र सङ्घका पदाधिकारी तथा पूर्वअध्यक्षहरूसँग छलफल गरी विगतदेखि नै जग्गा प्रयोग र भाडासम्बन्धी के–कस्तो अवस्था रहेको थियो भन्ने विषय बुझेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।‘अब हप्ता/१० दिनभित्र पदाधिकारी र पूर्वअध्यक्षहरूसहित बसेर छलफल गर्छौँ। पहिलेदेखि के भएको रहेछ भन्ने बुझेर समस्या समाधान गर्छौँ। आफ्नै ठाउँको विद्यालय हो,’ अध्यक्ष थापाले भने। गछियाको मुख्य बजार क्षेत्रमा रहेको ९ कठ्ठा जग्गाको व्यावसायिक सम्भावना र बजार मूल्यको तुलनामा वार्षिक ७ हजार रुपैयाँ भाडा आफैँमा न्यून देखिन्छ। त्यसमाथि सम्झौतामा उल्लेख भएको रकमसमेत वर्षौँसम्म भुक्तानी नहुनुले विद्यालयको सम्पत्ति व्यवस्थापन र संरक्षणमाथि प्रश्न उठाएको छ।

सामुदायिक विद्यालयको सम्पत्ति कुनै व्यक्ति वा संस्थाको मात्र विषय होइन, यो विद्यार्थीको शैक्षिक भविष्य र समुदायको साझा सम्पत्ति पनि हो। विद्यालयले आफ्नै स्वामित्वको जग्गाबाट आम्दानी गरी शैक्षिक गतिविधिमा उपयोग गर्न सक्ने अवस्थामा वर्षौँदेखि भाडा नउठ्नुले विद्यालयले पाउनुपर्ने आर्थिक स्रोतसमेत प्रभावित भएको देखिन्छ।अब प्रश्न सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घले विद्यालयसँग गरेको सम्झौता कार्यान्वयन गर्छ कि गर्दैन भन्ने मात्र होइन, सार्वजनिक शैक्षिक संस्थाको सम्पत्ति प्रयोग गर्ने संस्थाले आफ्नो दायित्व कहिले पूरा गर्छ भन्ने पनि हो। अध्यक्ष थापाले प्रतिबद्धता जनाएअनुसार हप्ता/१० दिनभित्र हुने छलफल र त्यसबाट निस्कने निष्कर्षले विद्यालयको बक्यौता भाडा असुली तथा जग्गा व्यवस्थापनको आगामी बाटो तय गर्ने अपेक्षा गरिएको छ। अब विद्यालयको सम्पत्तिको संरक्षण र सम्झौताको कार्यान्वयनमा सम्बन्धित पक्षले जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ।

तपाईको प्रतिक्रिया