इटहरी । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभा आगामी मंसिर १२ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यसहित पार्षदसभा आयोजना गर्न लागिएको हो।

‘थातथलो हाम्रो गौरव, अमूर्त सम्पदा हाम्रो पहिचान, संरक्षण र पुस्तान्तरणका लागि १५औँ पार्षदसभा अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने सभाको उद्घाटन गृहमन्त्री सुदन गुरुङले गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।

परिषद्का अध्यक्ष धनमान गुरुङले संस्थाको संगठनात्मक संरचना थप व्यवस्थित बनाउँदै गुरुङ समुदायका विभिन्न जातीय, पेशागत तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई समेट्ने उद्देश्यले पार्षदसभा आयोजना गर्न लागिएको जानकारी गराए।

त्यसैगरी परिषद्का महासचिव अधिवक्ता राजु गुरुङले सभामा संस्थाको विधान संशोधन, आगामी नीति तथा कार्यक्रम र गुरुङ समुदायको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी विषयमा छलफल हुने बताए।

सभामा ६ वटा प्रदेश कार्यसमिति, ३४ वटा जिल्ला कार्यसमिति, भातृसंस्था तथा पेशागत र विशेष संस्थाका प्रतिनिधिसहित करिब ३५० जनाको सहभागिता रहनेछ। उद्घाटन सत्र इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा र बन्द सत्र सत्संग पार्टी प्यालेसमा सञ्चालन हुनेछ।

यसैगरी कार्यक्रममा भोटेकोशी क्षेत्रका बाढीपीडितका लागि संकलन गरिएको राहत रकम गृहमन्त्री सुदन गुरुङलाई हस्तान्तरण गरिने कार्यक्रमसमेत रहेको परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङले जानकारी दिएका छन्।

पार्षदसभामा लुम्बिनी प्रदेशको रुपन्देहीमा प्येता ल्हुता अध्ययन स्रोत केन्द्र तथा संग्रहालय, कोशी प्रदेशमा रोधी स्रोत केन्द्र तथा संग्रहालय, बागमती प्रदेशको चितवनमा खेमा स्रोत केन्द्र तथा संग्रहालय र गण्डकी प्रदेशमा तमू अन्तर्राष्ट्रिय सांस्कृतिक स्रोत केन्द्र तथा संग्रहालय स्थापना गर्ने प्रस्तावमाथि समेत छलफल हुने जनाइएको छ।

परिषद्ले देशभर रहेका गुरुङ समुदायका महानुभावहरूलाई उद्घाटन सत्रमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया