इटहरी | सुनसरीको इटहरी–२ मा १०८ शिवलिङ्गसहितको त्रिनेत्र मोक्षधाममा आयोजित पहिलो बोलम मेला समापन सँगै आय व्यय सार्वजनिक गरिएको छ ।

मोक्षधाममा पहिलोपटक आयोजना गरिएको बोलबम मेलामा करिब १० हजार भक्तजन सहभागी भएको सोमबार आयोजित आय–व्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजना तथा त्रिनेत्र मोक्षधाम निर्माण समितिको व्यवस्थापनमा बोलबम मेला सञ्चालन गरिएको थियो।

धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धिसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको मोक्षधामलाई कोशी प्रदेशकै प्रमुख धार्मिक–आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

मोक्षधामको शिलान्यास २०८२ भदौ १९ गते गरिएको थियो। विभिन्न स्थानबाट ल्याइएका पवित्र शिलाबाट निर्मित १०८ शिवलिङ्ग विधिपूर्वक स्थापना गरिएको त्रिनेत्र मोक्षधाम सेवा समितिले जनाएको छ। धाम निर्माणमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाको सहकार्य रहेको छ।

समितिका अध्यक्ष बाबुराम सुवेदीले आगामी दिनमा महाशिवरात्रि, बालाचतुर्दशी तथा साउन महिनाभर विशेष मेला र जलाभिषेकलगायतका धार्मिक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।

दाताको नाम शिलालेखमा राखिने

मोक्षधाम निर्माण तथा १०८ शिवलिङ्ग स्थापनामा योगदान गर्ने दाताहरूको नाम समेटेर शिलालेख निर्माण गरिने भएको छ।

समितिका अध्यक्ष सुवेदीका अनुसार १५ हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाता तथा १०८ शिवलिङ्ग स्थापनामा सहभागी हुने व्यक्तिहरूको नाम शिलालेखमा समावेश गरिनेछ। त्यस्तै, स्थापनाका क्रममा १५ हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने महानुभावलाई विधानअनुसार आजीवन सदस्यता प्रदान गरिने जनाइएको छ।

भूमिदानसहित शिवलिङ्ग स्थापनाका लागि ३३ हजार ३३३ रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दातालाई संस्थापक सदस्य बनाउने निर्णयसमेत गरिएको समितिले जनाएको छ।

मोक्षधाममा शिलालेख स्तम्भ, घेराबार तथा आकर्षक प्रवेशद्वार निर्माणको कामसमेत अघि बढिरहेको छ। आर्थिक वर्ष २०८३/०८४ मा इटहरी उपमहानगरपालिका–२ बाट २ लाख रुपैयाँ र कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट ५ लाख रुपैयाँ बजेट विनियोजन भएको समितिले जनाएको छ।

त्रिनेत्र मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीले धामलाई धार्मिक आस्थाको केन्द्रसँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

भजन समूह तथा सामाजिक अभियन्ता सम्मानित

यसैबीच, मोक्षधाममा धार्मिक तथा सामाजिक अभियानमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा भजन समूहलाई कदरपत्रसहित सम्मान गरिएको छ।

मोक्षधामको धार्मिक गतिविधिमा सक्रिय आयुर्वेदिक साझा भजन समूह र पारिजात भजन समूहलाई कदरपत्रसहित एक–एक थान मादल प्रदान गरिएको थियो। त्यस्तै, सामाजिक तथा धार्मिक अभियानमा योगदान पुर्‍याउने विमला पोख्रेल ,दुर्गा पोख्रेल  मञ्जु पराजुली र संगीता दियालीलाई कदरपत्र प्रदान गरिएको थियाे ।

त्यस्तै प्रचार प्रसारमा महत्वपुर्ण भुमिका निर्वाह गरे वापत सञ्चारकर्मी तेज बनलाई पनि कदर पत्र प्रदान गरिएकाे थियाे ।

१०८ शिवलिङ्ग स्थापना अभियानका लागि ३३ हजार ३३३ रुपैयाँ नगद सहयोग गर्ने इटहरी–५ निवासी चन्द्रकला बोहरा दाहाल र सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) सुनसरीका अध्यक्ष छविनाथ सुवेदीलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।

त्रिनेत्र मोक्षधाम सेवा समितिले धार्मिक गतिविधिसँगै सामाजिक सहभागिता र सहयोगी मनहरूको सम्मानलाई निरन्तरता दिने जनाएको छ। मोक्षधामको विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई आगामी दिनमा समेत सम्मान गर्दै जाने समितिको योजना छ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइरालाले सामूहिक प्रयास, दाताहरूको सहयोग र निरन्तरको अभियानबाट स्थापित त्रिनेत्र मोक्षधामलाई आगामी दिनमा कोशी प्रदेशकै महत्वपूर्ण धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।

कार्यक्रमकी अध्यक्ष तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले सबैको साझा प्रयासबाट मोक्षधाम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताइन्। उनले मोक्षधामको संरक्षण र विकासका लागि तीनै तहका सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिइन्।

Smart

तपाईको प्रतिक्रिया