सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा सुन्दरहरैंचा नगरपालिकामा नगर उपसभापति पदका लागि अमृता लिम्बुले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

लामो समयदेखि कांग्रेसको संगठन निर्माण, महिला सहभागिता तथा सामाजिक क्षेत्रमा सक्रिय लिम्बुले आफूलाई नगर उपसभापतिको उम्मेदवारका रूपमा अघि सारेकी हुन्। उनले संगठनलाई वडा तहसम्म थप मजबुत बनाउँदै पार्टीलाई एकताबद्ध, अनुशासित र जनमुखी बनाउने आफ्नो प्राथमिकता रहेको बताएकी छन्।

लिम्बु नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सुन्दरहरैंचा नगर समितिको अध्यक्षका रूपमा रहेर नगरका १२ वटै वडामा संगठन विस्तार तथा सक्रियता बढाउने काममा संलग्न रहँदै आएकी छन्। वडा तहसम्म संगठन विस्तार गर्ने क्रममा उनले महिला, युवा तथा आदिवासी जनजाति समुदायलाई पार्टीको मूलधारसँग जोड्ने प्रयास गरेको बताएकी छन्।

सामाजिक क्षेत्रमा समेत सक्रिय लिम्बु आदर्श महिला समाजकी अध्यक्ष हुन्। त्यस्तै, उनले इन्द्रपुर नमुना माध्यमिक विद्यालयको अभिभावक संघको उपाध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी छन्। राजनीतिक संगठनसँगै सामाजिक र शैक्षिक क्षेत्रमा प्राप्त अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने उनको भनाइ छ।

उम्मेदवारी घोषणा गर्दै लिम्बुले आफ्नो अभियानलाई व्यक्ति वा गुट केन्द्रित नभई संगठन, विधि र जनतासँग जोडिएको कांग्रेस निर्माणमा केन्द्रित गर्ने बताएकी छन्।

उनले नगरका हरेक वडामा कांग्रेसको संगठनलाई बलियो बनाउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई सक्रिय बनाउने र महिला सहभागितालाई वडा तहदेखि नै प्रभावकारी बनाउने योजना अघि सारेकी छन्।

यस्ता छन् अमृता लिम्बुका प्रमुख चुनावी एजेन्डा

१. हरेक वडामा बलियो संगठन
नगरका १२ वटै वडामा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै वडा तहलाई कांग्रेसको बलियो आधार बनाउने।

२. भ्रातृ संगठनलाई सक्रिय बनाउने
भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पार्टी संगठनसँग समन्वय गर्दै थप प्रभावकारी बनाउने।

३. हरेक वडामा महिला भेला
महिला दिदीबहिनीलाई पार्टी संगठनको मूल प्रवाहमा जोड्दै नियमित वडा तहका महिला भेला र कार्यक्रम सञ्चालन गर्ने।

४. युवालाई कांग्रेसमा फर्काउने अभियान
कांग्रेसबाट टाढिएका तथा राजनीतिमा नयाँ सम्भावना खोजिरहेका युवालाई पार्टीसँग पुनः जोड्ने अभियान सञ्चालन गर्ने।

५. एकताबद्ध कांग्रेस, समृद्ध सुन्दरहरैंचा
व्यक्तिगत गुटभन्दा माथि उठेर संगठनभित्र एकता कायम गर्दै समृद्ध सुन्दरहरैंचा निर्माणका लागि कांग्रेसलाई जनतासँग जोड्ने।

६. महिला सहभागिता व्यवहारमै कार्यान्वयन
महिला दिदीबहिनीको शक्ति नै कांग्रेसको शक्ति भएको उल्लेख गर्दै पार्टीले सुनिश्चित गरेको कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई कागजमा मात्र नभई व्यवहारमै कार्यान्वयन गर्ने।

७. आचारसंहिता र अनुशासनमा जोड
पार्टीभित्र विधि, विधान र अनुशासनलाई प्राथमिकता दिँदै गुटगत राजनीति अन्त्य गर्ने उनको एजेन्डा छ। उनको अभियानको मूल धारणा छ— ‘गुट होइन, विधि।’

८. कांग्रेस सरकारले गरेका काम जनतामाझ पुर्‍याउने
कांग्रेस नेतृत्वको सरकारले गरेका विकास, सामाजिक तथा जनहितका कामलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउने र पार्टीको सकारात्मक कामको प्रचार गर्ने।

९. विपक्षीसँग होइन, जनतासँग प्रतिस्पर्धा
राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत आरोप–प्रत्यारोपमा सीमित नगरी जनताको विश्वास जित्ने कामलाई प्राथमिकता दिने लिम्बुको भनाइ छ।

१०. चुनाव जित्ने संगठन निर्माण
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्येक वडामा २५ सदस्यीय चुनाव तयारी टिम निर्माण गर्ने र संगठनलाई निर्वाचन केन्द्रित बनाउने योजना उनले अघि सारेकी छन्।

११. २०८४ का लागि तथ्यांक र संगठनात्मक तयारी
मतदाता, कार्यकर्ता तथा संगठनको अवस्थासम्बन्धी आवश्यक तथ्यांक व्यवस्थित रूपमा तयार पार्दै २०८४ को निर्वाचनका लागि अहिलेबाटै तयारी गर्ने उनको योजना छ।

लिम्बुले आफू निर्वाचित भए व्यक्तिगत लोकप्रियताभन्दा संगठनको संस्थागत विकास, महिला–युवा सहभागिता र वडा तहको मजबुतीलाई प्राथमिकतामा राख्ने बताएकी छन्। उनको उम्मेदवारी घोषणासँगै सुन्दरहरैंचा कांग्रेसको नगर नेतृत्व चयनमा महिला नेतृत्वको सम्भावना र संगठन निर्माणको बहससमेत थप चासोको विषय बनेको छ।

Smart

तपाईको प्रतिक्रिया