इटहरी । सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित कोशी प्रदेशमा पहिलोपटक फरक अवधारणामा आयोजना भइरहेको ‘द फेस अफ ब्युटिसियन २०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

कुजु मोटर्सको आयोजना तथा सुजुकी मोटरसाइकल इटहरीको प्रस्तुतिमा भइरहेको प्रतियोगिताको ट्यालेन्ट राउन्ड असोज १० गते शनिबार इटहरीको तरहरास्थित रुद्राक्ष पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रममा फाइनलका लागि छनोट भएका २१ जना प्रतिस्पर्धीले नृत्य, गायन, वक्तव्य तथा कविता वाचनमार्फत आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतिस्पर्धीहरूको प्रस्तुति मूल्याङ्कन गर्न डान्स कोरियोग्राफर तथा लक्ष्मी डान्स स्टुडियोकी सञ्चालिका लक्ष्मी समाल मगर, ब्युटिसियन तथा मार्टिना मेकअप स्टुडियोकी सञ्चालिका उर्वि श्रेष्ठ र हेयर स्टाइलिष्ट आस्विन लिम्बू निर्णायकका रूपमा रहेका थिए ।

ट्यालेन्ट राउन्डमा निर्णायकले दिएको अङ्कका आधारमा तयार हुने नतिजा भने ग्रान्ड फिनालेकै दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन भूमिका रसाइलीले गरेकी थिइन् ।

प्रतियोगिता बाहिरी सौन्दर्य र ताजमा मात्र सीमित नरही सहभागीहरूको समग्र व्यावसायिक विकासमा केन्द्रित रहेको आयोजकको भनाइ छ । प्रतियोगिताका लागि छनोट भएका प्रतिस्पर्धीलाई सौन्दर्य विज्ञमार्फत एश कलर मास्टरक्लास, वाटरप्रुफ मेकअप तथा मास्टर हेयरकटको प्रत्यक्ष प्राविधिक तालिम प्रदान गरिएको छ ।

त्यस्तै, सैलुन व्यवसाय विस्तारका लागि क्लाइन्ट म्यानेजमेन्ट तथा मार्केटिङसम्बन्धी ‘बिजनेस ग्रोथ क्लास’, प्रोफेसनल ग्रुमिङ, पोर्टफोलियो फोटोसुट, सामाजिक सञ्जाल एक्सपोजर तथा प्रत्यक्ष मेन्टरसिपसमेत प्रदान भइरहेको छ । सहभागीहरूको आत्मविश्वास अभिवृद्धिका लागि हाइकिङ तथा टिम बिल्डिङजस्ता गतिविधिमा समेत सहभागी गराइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनलमा ताजका लागि अञ्जु ढकाल, अस्मिता चौधरी, अस्मिता मगर, बसन्ती गुरुङ, गंगा खवास, जिना श्रेष्ठ, केशिका ढकाल, लक्ष्मी पण्डित, लक्ष्मी मगर, ममता चौधरी, मेनुका मगर, निष्मा कँडेल, पुनम चौधरी, रिंकु शाह, रियुना खत्री, शिखा श्रेष्ठ, सोनिया तामाङ, सुनिता मिश्र, सुस्मिता मगर, सुष्मा चौधरी र भिमु कार्की प्रतिस्पर्धामा रहेका छन् ।

प्रतियोगिताको विजेताले आकर्षक ताज र ट्रफीसहित १ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पुरस्कार प्राप्त गर्नेछ । विजेताले मिडिया कभरेज, प्रोफेसनल फोटोसुट तथा प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्य गर्ने अवसरसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका अध्यक्ष अमित राजवंशी, सीईओ तथा कार्यक्रम निर्देशक उर्मिला दर्लामी मगर रहेका छन् । त्यस्तै, अफिसियल कोरियोग्राफर उमेश खड्का, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, अफिसियल मेकअप आर्टिस्ट मन्नु श्रेष्ठ तथा फोटो तथा भिडियोग्राफर इजन तामाङ रहेका छन् ।

प्रतियोगिताको ग्रान्ड फिनाले असोज २४ गते इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजना हुँदैछ । फिनालेको तयारीमा आयोजक तथा प्रतिस्पर्धीहरू अहिले अन्तिम चरणको तयारीमा जुटेका छन् ।

Smart

तपाईको प्रतिक्रिया