इटहरी/ ‘कबड्डी’ शृंखलाको पाँचौँ तथा अन्तिम प्रस्तुति ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को बहुप्रतीक्षित गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । निर्देशक रामबाबु गुरुङको लेखन र निर्देशनमा तयार भएको यस फिल्मको सांगीतिक कोसेलीलाई सोमबार बाँसुरी फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । परम्परागत डान्स नम्बरभन्दा फरक, ‘थाक खोला’ ले फिल्मको कथाको गतिलाई अगाडि बढाउने काम गरेको छ ।
कालीप्रसाद बास्कोटाको जादुमयी स्वर, शब्द र संगीतमा सजिएको यस गीतमा कुनै विशेष कोरियोग्राफी राखिएको छैन । यसको सट्टा, फिल्मका प्रमुख पात्रहरू बीचको भावनात्मक सम्बन्ध, प्रेम र नोकझोकलाई अत्यन्तै स्वाभाविक रूपमा प्रस्तुत गरिएको छ । भिडियोको सबैभन्दा बलियो पक्ष यसको दृश्यभाषा हो । थाक खोलाको किनार, पृष्ठभूमिका सेताम्य हिमाल र हरियाली डाँडापाखाले गीतलाई जीवन्त बनाएका छन् ।
भिडियोमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङको जीवन्त अभिनय देख्न सकिन्छ। दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको प्रेम र नोकझोकले दर्शकलाई मनोरञ्जन दिनुका साथै कथाप्रति कौतुहलता जगाउँछ । रिकेश गुरुङ किजको संगीत संयोजन र मिक्सिङ-मास्टरिङ रहेको यस गीतमा हेमन्त कान्छा रसाइलीको सारंगी र कृष्ण लिम्बूको बेस गिटारले छुट्टै मिठास थपेका छन् ।
यसअघि सार्वजनिक भएको टिजरमा अभिनेत्री मिरुना मगर नदेखिएपछि दर्शकले निकै खोजी गरेका थिए । छोटो समयमै लाखौँ भ्युज पाएको उक्त टिजरपछि, निर्माण पक्षले यो गीतमार्फत दर्शकको त्यो कौतुहलता मेट्ने प्रयास गरेको छ । टिजर जस्तै यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टोली विश्वस्त छ । बहुप्रतीक्षित यो फिल्म यसै वर्षको कात्तिक ६ गते अर्थात् दशैंको पर्सिपल्टबाट फिल्म हलमा आउँदैछ । यसमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, कमलमणि नेपाल, माओत्से गुरुङ, कविता आलेलगायतका स्थापित कलाकारहरूको अभिनय यसमा छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको यस फिल्ममा सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक हुन् । यो फिल्मलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेशी वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ ।







