इटहरी । माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ यसवर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये दोस्रो धेरै कमाउने फिल्म बनेको छ। फिल्मले मंगलबार बेलुकासम्म ९ करोड ३५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बक्स अफिस स्रोतले जनाएको छ।

यो कमाइसँगै ‘पेन्सन पट्टा’ले यसअघि दोस्रो स्थानमा रहेको फिल्म ‘लालीबजार’लाई पछि पारेको हो। चलचित्र विकास बोर्डका अनुसार ‘लालीबजार’ले ९ करोड ३२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दुई फिल्मको कमाइबीच तीन लाख रुपैयाँको अन्तर रहेको छ।

यसवर्ष सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको शीर्ष स्थानमा भने ‘गौंथली’ रहेको छ। फिल्मले २६ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ।

‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, पशुपति राई, बुद्धि तामाङ र विश्वास गुरुङलगायत कलाकारको अभिनय रहेको छ। पेन्सन जीवन, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखिएको फिल्मले दर्शकको साथ पाइरहेको छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मको प्रदर्शन अझै जारी रहेकाले यसको कमाइ थप बढ्न सक्ने देखिएको छ। दर्शकको निरन्तर साथसँगै ‘पेन्सन पट्टा’ले नेपाली फिल्मको बक्स अफिसमा आफ्नो स्थान थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Smart

तपाईको प्रतिक्रिया