इटहरी । थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनाले इटहरीमा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका स्थित बालग्राममा रहेको इटहरी पार्टी प्यालेसमा आयोजित फिनालेमा १७ जना प्रतियोगीले सहभागिता जनाएका थिए ।
महिलाको नेतृत्व विकास, व्यक्तित्व विकास तथा थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक महत्व र परम्पराबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थारु फिल्म एन्ड कल्चरल एसोसिएसन नेपालका अध्यक्ष जनकी चौधरीले बनाउनु भयो ।
भदौ २९ गते अडिसनमार्फत प्रतियोगी छनोट गरिएको थियो । त्यसपछि असोज २ गतेदेखि प्रतियोगीहरूलाई १२ दिनसम्म विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा व्यक्तित्व विकास, नेतृत्व क्षमता, प्रस्तुति तथा जितिया पर्वसँग सम्बन्धित विषयलाई प्राथमिकता दिइएको आयोजकको भनाइ छ । प्रशिक्षण पूरा गरेपछि १७ जना प्रतियोगी ग्राण्ड फिनालेमा सहभागी भएका हुन् ।
कार्यक्रमको अध्यक्षता थारु फिल्म एन्ड कल्चरल एसोसिएसन नेपालकी अध्यक्ष तथा मिसेस जितिया २०२६ की सीईओ जानकी चौधरीले गर्नुभएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य गवन सिंह चौधरी, केन्द्रीय पार्षद विजय चौधरी, केन्द्रीय पार्षद केशिलाल चौधरी, थारु कल्याणकारिणी सभा जिल्ला सदस्य गीतनारायण चौधरी, थारु महिला सभा इटहरीकी अध्यक्ष लक्ष्मी चौधरी, थारु महिला सभा रामधुनीकी अध्यक्ष लिली चौधरीलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
त्यसैगरी थारु चलचित्र तथा सांस्कृतिक क्षेत्रसँग आबद्ध विभिन्न पालिकाका अध्यक्ष तथा थारु समुदायसँग सम्बन्धित संघ–संस्थाका पदाधिकारीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।
तीन सदस्यीय निर्णायक मण्डल
ग्राण्ड फिनालेको दोस्रो चरणमा प्रतियोगीहरूको मूल्यांकनका लागि तीन सदस्यीय निर्णायक मण्डल गठन गरिएको थियो। निर्णायक मण्डलमा थारु कानुन व्यवसायी सभा केन्द्रीय अध्यक्ष तथा अधिवक्ता रामराज चौधरी, थारु विज्ञ बद्रीलाल सिक्दार र मिस पूर्वेली आइकनकी प्रथम रनरअप रइशा चौधरी रहनुभएको थियो ।
निर्णायक मण्डलले प्रतियोगीहरूको प्रस्तुति, व्यक्तित्व तथा विभिन्न चरणमा देखाएको क्षमताका आधारमा मूल्यांकन गरेको थारु फिल्म एन्ड कल्चरल एसोसिएसन नेपालका महासचिव जनक चौधरीले बताउनु भयो ।
प्रीती कुमारी चौधरी बनिन् ‘मिसेस जितिया २०२६’
प्रतियोगिताको अन्तिम नतिजाअनुसार प्रीती कुमारी चौधरीले ‘मिसेस जितिया २०२६’ को उपाधि जित्नुभएको छ। बिनिता चौधरी प्रथम रनरअप र लक्ष्मी चौधरी दोस्रो रनरअप बन्नुभएको छ ।
त्यस्तै मुनिता चौधरीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गर्नुभएको छ । प्रतियोगितामा विभिन्न विधाअन्तर्गत सात जना प्रतियोगीलाई सब-टाइटलसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
फिनालेमा सहभागी सबै १७ जना प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
जितिया पर्वको सांस्कृतिक पक्षलाई जोड
आयोजकका अनुसार ‘मिसेस जितिया’ प्रतियोगिता सौन्दर्य वा प्रतिस्पर्धामा सीमित नभई महिलाको नेतृत्व र व्यक्तित्व विकाससँगै थारु समुदायको मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यमा केन्द्रित रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
विशेषगरी थारु समुदायमा महत्वपूर्ण मानिने जितिया पर्वको सांस्कृतिक, सामाजिक तथा धार्मिक पक्षबारे नयाँ पुस्ता तथा समुदाय बाहिरका व्यक्तिलाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
महिलाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ ।
यस्तो छ आयोजकको कोर टिम
‘मिसेस जितिया २०२६’ सञ्चालनका लागि विभिन्न जिम्मेवारीसहित कोर टिम गठन गरिएको थियो । कार्यक्रममा टीएफसीए नेपालकी अध्यक्ष तथा मिसेस जितिया २०२६ की सीईओ जानकी चौधरीले नेतृत्व गर्नुभएको थियो ।
कोर टिममा म्यानेजिङ डाइरेक्टरका रूपमा जनक चौधरी, इभेन्ट म्यानेजर रोशन तिर्हुत थारु, ड्रेस डिजाइनर सनम चौधरी, क्रिएटिभ डाइरेक्टर रविन्द्र कुमार चौधरी र पीआरओका रूपमा ममता चौधरी रहनुभएको थियो ।
आयोजकले आगामी दिनमा पनि थारु कला, संस्कृति, भाषा, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनसँगै महिलाको नेतृत्व विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।







