इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो ।
‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले युवाले हासिल गरेको सीपलाई रोजगारीमा रूपान्तरण गर्दै रोजगारीबाट अघि बढेर आफैँ रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील तथा रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
सात दिनसम्म सञ्चालन हुने मेलामा कोशी प्रदेशका रोजगारीको खोजीमा रहेका युवा तथा विभिन्न क्षेत्रका रोजगारदातालाई एउटै मञ्चमा जोड्ने उद्देश्य राखिएको छ ।
मेलामार्फत स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सहजीकरण गर्ने, कामको खोजीमा रहेका युवालाई रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराउने तथा सीपमूलक तालिमका विषयमा आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
६५ स्टलमा रोजगारदाता तथा व्यवसायिक प्रतिष्ठान
मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाता क्षेत्रका गरी ६५ वटा स्टल राखिएका छन् ।
कामको खोजीमा रहेका युवाले मेलास्थलमा पुगेर विभिन्न रोजगारदाता तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् । त्यस्तै, उपलब्ध रोजगारीका अवसर, आवश्यक सीप तथा सीपमूलक तालिमका विषयमा जानकारी र परामर्श लिन सक्ने व्यवस्था गरिएको छ ।
आयोजकका अनुसार मेलाले रोजगार खोज्ने युवा र रोजगारदाता क्षेत्रबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्नुका साथै बजारको मागअनुसार आवश्यक सीप पहिचान गर्न युवालाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
मेलामा सहभागी युवाले रोजगारीका अवसरसँगै आफ्नो सीप र रुचिअनुसारका सम्भावित करियरबारे समेत जानकारी लिन सक्ने आयोजकको भनाइ छ ।







