सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ सुरु भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि सुरु भएको फेस्टिभलको नगर प्रमुख केदारप्रसाद गुरागाईले उद्घाटन गरेका हुन्। फेस्टिभल कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गुरागाईले फुड फेस्टिभलले स्थानीय उत्पादन, व्यापार–व्यवसाय र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यस्ता कार्यक्रमले स्थानीय उद्यमी तथा व्यवसायीलाई आफ्नो उत्पादनको प्रचारप्रसार गर्ने अवसर प्रदान गर्नुका साथै नगरको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

उनले स्थानीय उत्पादन र मौलिक खाद्य परिकारको प्रवर्द्धनमार्फत सुन्दरहरैँचाको पहिचान थप स्थापित गर्न सकिने उल्लेख गर्दै फेस्टिभललाई आर्थिक तथा व्यावसायिक गतिविधिसँग जोड्नुपर्नेमा जोड दिए।

सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले स्थानीय खाद्य परिकार, उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको बताए।

उनका अनुसार फेस्टिभलले स्थानीय व्यवसायीलाई बजार विस्तार तथा उत्पादनको प्रचारप्रसारमा सहयोग पुर्‍याउनुका साथै उपभोक्तालाई विभिन्न परिकारको स्वाद लिने अवसर प्रदान गर्नेछ।

फेस्टिभलमार्फत स्थानीय व्यापार–व्यवसायलाई प्रोत्साहन गर्दै सुन्दरहरैँचाको आर्थिक गतिविधि र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने आयोजकको अपेक्षा छ।

Smart

तपाईको प्रतिक्रिया