योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारीलाई मध्यनजर गर्दै विद्यार्थीका लागि रात्रिकालीन कक्षा सञ्चालन गरेको छ।

एसईई परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले विद्यालयले नियमित कक्षासँगै साँझको समयमा अतिरिक्त कक्षा सञ्चालन गरेको हो। रात्रिकालीन कक्षामार्फत विद्यार्थीलाई पाठ्यक्रममा आधारित विषयवस्तुको पुनरावृत्ति, अभ्यास तथा परीक्षा केन्द्रित तयारीमा सहजीकरण गरिरहेको विद्यालयले जनाएको छ।

विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईका अनुसार विद्यार्थीको शैक्षिक उपलब्धि सुधार गर्दै एसईईमा उत्कृष्ट नतिजा हासिल गराउने उद्देश्यले अतिरिक्त कक्षालाई प्राथमिकतामा राखिएको हो। विद्यार्थीलाई परीक्षाको तयारीमा कुनै कमी हुन नदिन शिक्षकहरूको प्रत्यक्ष निगरानीमा कक्षा सञ्चालन भइरहेको उनले बताए।

विद्यालयले विद्यार्थीको क्षमता र आवश्यकताअनुसार विषयगत रूपमा थप अभ्यास गराउने, जटिल विषयवस्तु स्पष्ट पार्ने तथा नमुना प्रश्नपत्रमार्फत परीक्षा अभ्यास गराउने कामसमेत गर्दै आएको जनाएको छ।

पूर्वाञ्चल पब्लिक स्कुलले एसईईलाई केवल परीक्षा नभई विद्यार्थीको आगामी शैक्षिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिँदै गुणस्तरीय शिक्षासँगै अनुशासित र प्रभावकारी तयारीमा जोड दिएको छ।

Smart

तपाईको प्रतिक्रिया