दुहबी । सुनसरीको दुहबी नगरपालिका–६ स्थित ऐतिहासिक दुर्गाकाली मन्दिरमा लाग्ने दशैं मेलालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन विशेष सुरक्षा योजना अघि सारिएको छ। मेला अवधिभर भक्तजनको सुरक्षा, भीड व्यवस्थापन र सहज पूजाआजालाई प्राथमिकतामा राख्दै आयोजकले आवश्यक तयारी तीव्र पारेको जनाएको छ।
पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत मेला क्षेत्रमा प्रहरी बिट स्थापना, प्रहरी तथा स्वयंसेवक परिचालन र भीडभाड हुने स्थानमा सीसीटीभीमार्फत निगरानी गरिने जानकारी दिएको छ। साथै, मेला भर्न आउने भक्तजनका लागि व्यवस्थित पार्किङ, पार्किङ शुल्कमा पारदर्शिता तथा सहज रूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइने समितिले जनाएको छ।
पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार ठाकुरका अनुसार मेलामा आउने श्रद्धालुलाई सुरक्षित र सहज वातावरणमा धार्मिक गतिविधिमा सहभागी गराउन आवश्यक व्यवस्थापन गरिनेछ। पार्किङदेखि मन्दिर परिसरको भीड व्यवस्थापनसम्मका विषयमा विशेष ध्यान दिइने उनको भनाइ छ।
फूलपातीदेखि सुरु हुने उक्त दशैं मेलामा दुहबीसहित आसपासका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा भक्तजन तथा श्रद्धालु आउने अपेक्षा गरिएको छ। मेलालाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको दुहबी नगरपालिका–६ का वडा अध्यक्ष घनश्याम हलुवाइले जानकारी दिए।
विगतका वर्षमा मेला अवधिमा देखिएका सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यसपटक सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइने वडा अध्यक्ष हलुवाइले बताए। भक्तजनको आवागमन सहज बनाउने, भीड नियन्त्रण गर्ने र मेला क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिने उनको भनाइ छ।
यस वर्षको मेलाको मुख्य आकर्षणका रूपमा महाकालको भव्य झाँकी प्रस्तुत गरिने वडा अध्यक्ष हलुवाइले जानकारी दिए। धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको दुर्गाकाली मन्दिरको दशैं मेलाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
आयोजकले भक्तजनलाई मेलामा सहभागी हुँदा सुरक्षा निर्देशन पालना गर्न, पार्किङ व्यवस्थालाई सहयोग गर्न र मेला शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरिदिन आग्रह गरेको छ।
सुरक्षा, सुव्यवस्था र धार्मिक उत्साहलाई केन्द्रमा राख्दै दुहबीको दुर्गाकाली मन्दिरमा लाग्ने यस वर्षको दशैं मेला भव्य तथा सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।







