सुनसरी | बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर, सुनसरी। खेलकुद विकास, युवा सहभागिता, सामाजिक एकता प्रवर्द्धन तथा दिवङ्गत प्रदीप राईको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले प्रकाशपुर युवा जमातद्वारा आयोजित प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को दोस्रो खेलमा गाइघाट युनाइटेड फुटबल क्लब उदयपुरले पाख्रीवास युथ युनाइटेड धनकुटालाई ६–२ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

असोज २४ गते भएको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका गाइघाट युनाइटेड क्लब उदयपुरका खेलाडी जर्सि नम्बर ४ का उमेश कार्की म्यान अफ द म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद २,५०० रुपैयाँसहित ट्रफी प्राप्त गरे।

खेलको दोस्रो दिन प्रतियोगितामा सभापतिको रूपमा प्रकाशपुर युवा जमातका अध्यक्ष मनिस मगर रहनुभएको थियो भने प्रमुख आतिथ्यता बराहक्षेत्र नगरपालिकाकी नगर उपप्रमुख नन्द कुमारी सुनुवारले गर्नुभएको थियो। विशिष्ट अतिथिहरूमा बराहक्षेत्र नगरपालिकाका शाखा अधिकृत वीरेन्द्र यादव, मातृका तिवारी लगायत अन्य अतिथिगण रहनुभएको थियो। अतिथिको रूपमा विभिन्न संघसंस्थाका व्यक्ति, शिक्षक, प्रदीप राईका आफन्तजन, स्थानीय समाजसेवी, खेलप्रेमी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत अन्य व्यक्तिहरूको उपस्थितिमा आशिष राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

भोलि (असोज २५ गते) हुने खेल फेयर फुटबल क्लब धरान र सशस्त्र प्रहरी बल नेपालबीच हुनेछ।

आयोजकका अनुसार प्रतियोगिताको उपाधि जित्ने प्रथम टोलीले रु. २,२२,२२२ प्राप्त गर्नेछ भने उपविजेता बन्ने दोस्रो टोलीले रु. १,११,१११ नगद पुरस्कार पाउनेछ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताभर सर्वाधिक गोल गर्ने गोलकर्ताले रु. ३,५००, बेस्ट गोलकिपरले रु. ३,५००, उत्कृष्ट फर्वार्डले रु. ३,५००, बेस्ट डिफेन्डरले रु. ३,५००, बेस्ट प्रशिक्षकले रु. ३,५००, नव उदयमान खेलाडीले रु. ३,५०० र सर्वोत्कृष्ट खेलाडीले रु. ५,००० नगद प्राप्त गर्नेछन्। यसैगरी, प्रत्येक खेलका उत्कृष्ट खेलाडी (प्लेयर अफ द म्याच) ७ जनालाई जनही रु. २,५०० का दरले कुल रु. ३५,००० नगद पुरस्कार प्रदान गरिनेछ।

विजेता तथा उपविजेता टोलीलाई ट्रफी, खेलाडीहरूलाई मेडल तथा उत्कृष्ट खेलाडीहरूलाई विशेष ट्रफी/मेडल प्रदान गरिनेछ। प्रतियोगितामा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस प्रतियोगिताको अनुमानित बजेट रु. ४९,२०,३५५ (उनन्चास लाख बीस हजार तीन सय पचपन्न रुपैयाँ) रहेको छ।

Smart

तपाईको प्रतिक्रिया