इटहरी । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले जानकारी दिए।
२०७० सालमा स्थापना भएको नमुना कलेजले गुणस्तरीय शिक्षासँगै विभिन्न सामाजिक तथा मानवीय अभियानमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ। कलेजले विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
अध्यक्ष खड्काका अनुसार शिक्षा प्रदान गर्ने संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित नागरिकको साथमा उभिनुपर्ने भएकाले सहयोगको निर्णय गरिएको हो।
कलेजले आगामी दिनमा समेत सामाजिक तथा मानवीय क्षेत्रमा आफ्नो सहभागिता निरन्तर राख्ने जनाएको छ।







