इटहरी । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) पूर्वाञ्चल शाखाले ३०औँ ईक्यान दिवसको अवसरमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै ईक्यान पूर्वाञ्चल शाखाले १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

हरेक वर्ष भदौ १३ गते ईक्यान दिवस मनाउँदै आएको संस्थाले यस वर्ष दिवसलाई उत्सवका रूपमा मात्र नभई विपद्मा परेका नागरिकप्रति मानवीय सहयोग र सामाजिक उत्तरदायित्वका रूपमा मनाउने निर्णय गरेको जनाएको छ।

ईक्यान पूर्वाञ्चलले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको शीघ्र तथा सकुशल उद्धार र प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को यस घडीमा प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग गर्न ईक्यान पूर्वाञ्चलले सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत अपिल गरेको छ।

Smart

तपाईको प्रतिक्रिया