सुनसरी | सुनसरीको इटहरीमा आयोजना हुने पाकिस्तानी चर्चित गायक अतिफ अस्लमको लाइभ कन्सर्टको Early Bird टिकट बिक्री आज राति ८ बजेदेखि बन्द हुने भएको छ। आगामी डिसेम्बर १९, २०२६ मा इटहरी रंगशालामा आयोजना हुने ‘अतिफ अस्लम लाइभ इन नेपाल’ कन्सर्टका लागि खल्ती बाइ आइएमई डिजिटल टिकटिङ पार्टनरका रूपमा आबद्ध भएको छ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकलाई प्रत्यक्ष सांगीतिक मनोरञ्जन प्रदान गर्नेछन्। कार्यक्रममा नेपालसहित भारत तथा दक्षिण एसियाका विभिन्न देशबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

दक्षिण एसियाली संगीत क्षेत्रमा लोकप्रिय अतिफ अस्लमका ‘ताजदार–ए–हरम’, ‘तेरे बिन’ र ‘दिल दियाँ गल्लाँ’ लगायतका गीत विश्वभर चर्चित छन्। उनका लोकप्रिय गीत प्रत्यक्ष सुन्न पाइने भएपछि इटहरीमा आयोजना हुन लागेको यस कन्सर्टलाई लिएर संगीतप्रेमीमाझ उत्साह बढ्दै गएको छ।

डिजिटल टिकटिङ पार्टनरका रूपमा जोडिएको खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउनेछ। दर्शकले खल्तीको डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्।

खल्तीका चिफ अपरेटिङ अफिसर पुष्पराज न्यौपानेले अतिफ अस्लमजस्ता अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकारको कन्सर्टसँग डिजिटल टिकटिङ पार्टनरका रूपमा जोडिन पाउँदा उत्साहित रहेको बताए। उनले नेपालमा संगीत तथा मनोरञ्जनसम्बन्धी कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै डिजिटल माध्यमबाट टिकट खरिद गर्ने प्रवृत्तिले कार्यक्रम व्यवस्थापनलाई समेत सहज बनाउने विश्वास व्यक्त गरे।

न्यौपानेका अनुसार यस सहकार्यले दर्शकलाई सहज डिजिटल टिकटिङ अनुभव प्रदान गर्नुका साथै मनोरञ्जन क्षेत्रमा डिजिटल सेवाको प्रयोग र पहुँच विस्तार गर्न सहयोग पुग्नेछ।

यसैबीच, कन्सर्टको Early Bird टिकट खरिद गर्ने समय आज राति ८ बजेसम्म मात्रै रहेको आयोजकले जनाएको छ। आज राति ८ बजेदेखि Early Bird टिकट बिक्री बन्द हुने भएकाले छुटसहित टिकट खरिद गर्न चाहने दर्शकले निर्धारित समयअघि नै टिकट सुरक्षित गर्नुपर्नेछ।

खल्ती बाइ आइएमईले मनोरञ्जन, पर्यटन तथा यात्रालगायत विभिन्न क्षेत्रमा डिजिटल भुक्तानी र सेवाको पहुँच विस्तार गर्दै आएको छ। अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टसँगको सहकार्यले नेपालको मनोरञ्जन क्षेत्रमा डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

डिसेम्बर १९ मा इटहरी रंगशाला अन्तर्राष्ट्रिय सांगीतिक माहोलमा गुञ्जिने अपेक्षा गरिएको छ। अतिफ अस्लमको प्रत्यक्ष प्रस्तुति हेर्न र सुन्न दर्शकहरू उत्साहित रहेका छन्।

तपाईको प्रतिक्रिया