इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीमा आबद्ध २३ वटा शिक्षालयले बाढीपीडितका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग गर्ने भएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम हिसान केन्द्रीय समितिलाई हस्तान्तरण गरिने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार इटहरी, धरान तथा रामधुनी–इनरुवा क्लस्टरमा रहेका शिक्षालयबाट रकम संकलन गरिएको हो । इटहरीबाट मात्रै ५२ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ संकलन भएको छ ।
इटहरी क्लस्टरमा विश्व आदर्श एकेडेमीले १२ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, सुष्मा सेकेन्डरी स्कुल एन्ड कलेजले ११ लाख २९ हजार ७ सय ५५ रुपैयाँ, ग्रीन पिस इटहरी नमुना कलेजले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र कस्तुरी कलेजले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
त्यसैगरी कोशी सेन्ट जेम्स कलेजले ५ लाख ५० हजार, प्रिमियर कलेजले ३ लाख, लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार, पूर्वाञ्चल सेकेन्डरी स्कुलले १ लाख १५ हजार तथा सीबी रेस सेकेन्डरी स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
धरान क्लस्टरबाट १ लाख ६० हजार १० रुपैयाँ संकलन भएको छ । जसमा धरान सेकेन्डरी स्कुलले सबैभन्दा बढी ७५ हजार रुपैयाँ सहयोग गरेको छ ।
यस्तै, रामधुनी–इनरुवा क्लस्टरबाट १ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । उक्त क्लस्टरमा लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
बाढीपीडित एक हजार विद्यार्थीलाई निःशुल्क शिक्षा
कार्यक्रममा बोल्दै हिसान केन्द्रीय उपाध्यक्ष मुकुन्द घिमिरेले बाढीपीडित एक हजार विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका छन् । उनले जुनसुकै तहमा अध्ययनरत विद्यार्थी भए पनि शिक्षा निःशुल्क उपलब्ध गराउने बताए ।
इटहरीमा विद्यार्थीको बसोबासको व्यवस्था भएमा आफूहरूले पढाउने व्यवस्था मिलाउने घिमिरेको भनाइ छ ।
कार्यक्रममा विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले विपद्को दुःखद घडीमा सहयोग गर्नु सबैको कर्तव्य भएको बताए । उनले बाढीपीडितको सहयोगका लागि अन्य व्यक्ति तथा संस्थालाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।







