इटहरी । सुनसरी जिल्लामा हालै विकसित घटनाक्रम, जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत उपलब्ध गराउने विषयमा सोमबार उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा दलका उपनेता गणेश पराजुली, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता, सुनसरी–३ का प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरी, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू तथा सरकारका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउँदै जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आवश्यक सबै कदम प्रभावकारी रूपमा अघि बढाउने विषयमा विस्तृत छलफल भएको प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीले जानकारी दिए।
छलफलका क्रममा घटनामा घाइते भएका सबैको उपचार खर्च सरकारले पूर्ण रूपमा व्यहोर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा पीडितलाई आवश्यक राहत र सहयोग सुनिश्चित गर्ने विषयमा सहमति भएको जनाइएको छ।
त्यसैगरी, भविष्यमा यस्ता घटना दोहोरिन नदिन जिल्लाको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने, कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउने तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासहितको टोलीले अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। टोलीले चिकित्सकहरूसँग उपचारको प्रगति र आवश्यक स्वास्थ्य सेवाबारे छलफल गरेको थियो। त्यस अवसरमा मन्त्री मेहताले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र आवश्यक सबै सहयोग सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
सरकारका प्रतिनिधि, सुरक्षा निकाय तथा जनप्रतिनिधिबीच भएको यस छलफललाई सुनसरीमा शान्ति–सुरक्षा सुदृढ बनाउने, पीडितलाई राहत उपलब्ध गराउने र सामाजिक सद्भाव कायम राख्ने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।














