स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरी लेडी जुनियर जेसिजद्वारा ‘मानसिक स्वास्थ्य सचेतना’ कार्यक्रम सम्पन्न

इटहरी । इटहरी लेडी जुनियर जेसिजको आयोजनामा ‘मानसिक स्वास्थ्य सचेतना’ विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको सन्दर्भमा युवाहरू तथा समाजमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम इटहरी लेडी जुनियर जेसिजकी अध्यक्ष दिव्या दाहालको अध्यक्षता तथा जेसीआई एरिया ‘ए’ का संयोजक सबम खतिवडा (राजा) को विशेष उपस्थितिमा सम्पन्न भएको हो। आइएसएमटी कलेजको सभाहलमा आयोजित कार्यक्रममा जेसिज पदाधिकारी, सदस्य, युवा तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा मानसिक स्वास्थ्य सल्लाहकार मौसम कोइरालाले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गर्दै मानसिक स्वास्थ्यको महत्त्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, आत्मविश्वास अभिवृद्धि तथा सकारात्मक सोचको विकासबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले दैनिक जीवनमा देखिने तनाव, चिन्ता, निराशा र मानसिक दबाबलाई समयमै पहिचान गरी आवश्यक परामर्श तथा सहयोग लिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो।

कोइरालाले मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यजत्तिकै महत्वपूर्ण विषय भएकाले यसबारे खुलेर छलफल गर्नुपर्ने, मानसिक समस्यालाई लुकाउने वा लाजको विषयका रूपमा नलिनुपर्ने धारणा राख्नुभयो। उहाँले परिवार, साथीभाइ तथा समाजको सहयोग र सकारात्मक वातावरणले मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। प्रमुख प्रशिक्षक कोइरालाले सहभागीका प्रश्नको जवाफ दिँदै तनाव नियन्त्रण, भावनात्मक सन्तुलन कायम गर्ने उपाय, आत्महेरचाह (सेल्फ–केयर) र आवश्यक पर्दा विशेषज्ञको परामर्श लिनुपर्ने विषयमा सुझाव दिनुभएको थियो।

अध्यक्ष दिव्या दाहालले मानसिक स्वास्थ्यप्रति समाजमा अझै पनि पर्याप्त खुलापन र सचेतना नभएकाले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले युवाहरूलाई मानसिक रूपमा सबल, आत्मविश्वासी र सकारात्मक बनाउने उद्देश्यले इटहरी लेडी जुनियर जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले सहभागीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नुका साथै तनाव व्यवस्थापन, आत्महेरचाह र स्वस्थ जीवनशैली अपनाउने विषयमा व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकको विश्वास रहेको छ। सहभागीहरूले पनि कार्यक्रम निकै उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका थिए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *