इटहरी । उद्योग वाणिज्य संघ इटहरीको ११औँ कार्यसमितिको पदस्थापना तथा शपथग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ। संघका निवर्तमान अध्यक्ष जीवन पराजुलीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गायत्री कट्वाल भण्डारीसहित सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।
शपथपछि आफ्नो पहिलो सम्बोधन गर्दै अध्यक्ष गायत्री कट्वाल भण्डारीले निर्वाचनसँगै पक्ष–विपक्षको राजनीति समाप्त भएको र अब सबै उद्योगी–व्यवसायी एउटै परिवारका सदस्यका रूपमा अघि बढ्नुपर्ने बताइन्। उनले उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धन, व्यवसायीको हित संरक्षण र संघको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै सबैको अनुभव, सुझाव र सहकार्यका आधारमा संघलाई अझ प्रभावकारी तथा उदाहरणीय संस्था बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
यसै अवसरमा उनले निर्वाचनअघि गरेको प्रतिबद्धताअनुसार संघमा अक्षयकोष स्थापना गर्न रु. ८ लाख ८ हजार ८ सय ८८ बराबरको चेक हस्तान्तरण गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुरकृष्ण वैद्यले उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा गायत्री कट्वाल भण्डारी निर्वाचित हुनु महिला नेतृत्वका लागि ऐतिहासिक उपलब्धि भएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका ११७ सदस्य संघमध्ये उनी पाँचौँ महिला अध्यक्ष भएको उल्लेख गर्दै उनले यस उपलब्धिले निजी क्षेत्रभित्र महिला नेतृत्वलाई थप सशक्त बनाएको धारणा राखे।

निवर्तमान अध्यक्ष जीवन पराजुलीले निर्वाचनका क्रममा प्रतिस्पर्धा स्वाभाविक भए पनि अब सबै एकजुट भएर संघ र व्यवसायीको हितमा काम गर्ने समय आएको बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले संघमा अनलाइन सेवा प्रणाली सञ्चालन, प्रविधिमैत्री सेवा विस्तार तथा व्यवसायीमैत्री कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन सुझाव दिएका थिए।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता कुमारी चौधरी, संघका पूर्वअध्यक्षहरू भीमबहादुर पौडेल र रोहित प्रसाई, अडिटर एसोसिएसन नेपालका द्वितीय उपाध्यक्ष पोषराज नेपाल, व्यापार समिति संयोजक नवीन रिजाललगायत उद्योगी–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
संघले पहिलो कार्यसमिति बैठकबाट पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन र जिम्मेवारी बाँडफाँट गर्ने जनाएको छ।














