सुन्दरहरैँचा (मोरङ) : मोरङको गछियास्थित सुन्दर–दुलारी उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरूका लागि नापतौल प्रमाणीकरण तथा नवीकरण कार्यक्रम सम्पन्न भएको छ।
संघको नवनिर्मित आफ्नै भवनमा आयोजित कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा साविक सुन्दर–दुलारी क्षेत्रका एक सयभन्दा बढी व्यवसायीले आफ्ना ढक, तराजु तथा अन्य नापतौलका उपकरण प्रमाणीकरण तथा नवीकरणका लागि ल्याएका थिए।
कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष रमेश थापाले स्थापना कालदेखि नै संघले व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्दै आएको उल्लेख गरे। उनले यस्ता सेवा व्यवसायीलाई सहजता प्रदान गर्ने र व्यापारलाई व्यवस्थित तथा विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष किशोर कार्की रहेका थिए। उनले व्यवसायलाई कानुनी तथा मापदण्डअनुसार सञ्चालन गर्न नापतौल उपकरणको नियमित प्रमाणीकरण आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
त्यसैगरी, संघका निवर्तमान अध्यक्ष जीवनप्रसाद ढुंगाना विशेष अतिथिका रूपमा सहभागी भएका थिए। उनले व्यवसायीको सुविधालाई केन्द्रमा राखेर संघले सञ्चालन गरिरहेका कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक गतिविधि अझ प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए।
संघका अनुसार व्यवसायीलाई एउटै स्थानबाट सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले आफ्नै भवनमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि यस्तो सेवा स्थानीय स्तरमै उपलब्ध गराएकोमा संघप्रति धन्यवाद व्यक्त गरेका थिए।














