सुन्दरहरैंचा | जीवनमा कहिलेकाहीँ यस्ता कठिन मोडहरू आउँछन्, जहाँ पीडा सुनिदिने मान्छे पनि भेटिँदैन। मोरङको सुन्दरहरैंचा नगरपालिका–५ का इन्द्रबहादुर बिक र उनकी जीवनसंगिनी पवित्रा बिक यतिबेला यस्तै पीडादायी अवस्थाबाट गुज्रिरहेका थिए। बिरामी शरीर, कमजोर आर्थिक अवस्था र घरमा हेरचाह गर्ने आफ्नै कोही नभएको अवस्थाले उनीहरूको दैनिकी निकै कष्टकर बनेको थियो।
यही पीडाको कथा सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेले भिडियोमार्फत सार्वजनिक गरेपछि हजारौं किलोमिटर टाढा हङकङमा रहेका सुन्दरहरैंचावासीको मन छोयो। जन्मथलोप्रतिको माया र पीडामा परेकाको साथ बन्ने भावनाले प्रेरित भएर सुन्दरहरैंचा सेवा समिति हङकङका अध्यक्ष युवराज राईको नेतृत्वमा सदस्यहरूले आपसमा रकम सङ्कलन गरी ९३ हजार ९ सय सहयोग जुटाए।
बिहीबार सामाजिक अभियन्ता कृष्णकुमार घिमिरे, वडा सदस्य इन्द्रिरा चापागाई, सुन्दरहरैंचा सेवा समिति हङकङका प्रतिनिधि कल कुमार राई लगायतको टोली पीडित दम्पतीकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो। सहयोग बुझ्दै गर्दा इन्द्रबहादुर बिक दम्पतीका आँखा रसाएका थिए। लामो समयपछि कसैले आफ्नो दुःख बुझिदिएको अनुभूतिले उनीहरू भावुक बने। त्यहाँ उपस्थित धेरैको मन पनि यो दृश्यले छोएको थियो।
सामाजिक अभियन्ता कृष्णकुमार घिमिरेले भावुक हुँदै भने, “मानिसको दुःख देखेर चुप लागेर बस्न सकिनँ। एउटा भिडियोले यति धेरै मनहरू जोड्ला भन्ने सोचेको थिइनँ। आज यो सहयोग हस्तान्तरण गर्दा लागिरहेको छ—मानवता अझै मरेको छैन। पीडामा परेका मानिसको अनुहारमा मुस्कान फर्किएको देख्दा सबैभन्दा ठूलो खुसी मिलेको छ।”
समितिका अध्यक्ष युवराज राईले भने, “हामी विदेशमा भए पनि हाम्रो मन सधैं आफ्नै गाउँघरमै हुन्छ। जन्मथलोका दाजुभाइ–दिदीबहिनी अप्ठ्यारोमा पर्दा टुलुटुलु हेरेर बस्न सकिँदैन। सानो सहयोगले पनि कसैको जीवनमा आशा जगाउन सकिन्छ भन्ने विश्वासका साथ हामीले यो सहयोग गरेका हौं।”
समितिका प्रतिनिधि कल कुमार राईले भने, “सहयोग रकम ठूलो होइन, तर यसले पीडित परिवारलाई ‘हामी एक्ला छैनौं’ भन्ने अनुभूति दिलाओस् भन्ने हाम्रो चाहना हो। मानवताको यो यात्रा भविष्यमा पनि निरन्तर रहनेछ।”
स्थानीयवासीका अनुसार यो सहयोग केवल आर्थिक राहत मात्र होइन, निराशाले ढाकिएको एउटा घरमा आशाको दीप बाल्ने प्रयास हो। सात समुद्रपारि रहेर पनि जन्मथलोका दुःखमा साथ दिने सुन्दरहरैंचा सेवा समिति हङकङका सदस्यहरूको यो मानवीय कार्यले समाजमा सहयोग, सद्भाव र मानवताको सुन्दर सन्देश फैलाएको छ। कहिलेकाहीँ जीवनमा सबैभन्दा ठूलो औषधि पैसा होइन, “तपाईं एक्लो हुनुहुन्न” भन्ने अनुभूति हुन्छ। सुन्दरहरैंचा सेवा समिति हङकङले यही अनुभूति इन्द्रबहादुर बिक दम्पतीलाई दिलाएको छ।














