सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशले विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ आयोजना गर्ने भएको छ।
नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालका अनुसार विद्यालय सञ्चालनमा आर्थिक पारदर्शिता, व्यवस्थित लेखा प्रणाली तथा सामाजिक सुरक्षा कोषसम्बन्धी कानुनी र व्यावहारिक पक्षबारे विद्यालय सञ्चालक तथा लेखा प्रमुखलाई थप दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो।
तालिम २०८३ भदौ २७ र २८ गते शनिबार र आइतबार विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा सञ्चालन हुनेछ। बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने तालिममा नेशनल प्याब्सनमा आबद्ध विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको सहभागिता रहनेछ।
अध्यक्ष खनालका अनुसार पछिल्लो समय निजी विद्यालयको प्रशासनिक तथा आर्थिक व्यवस्थापन थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ। त्यसलाई मध्यनजर गर्दै विद्यालयको लेखा व्यवस्थापन, कम्पनीसम्बन्धी विषय तथा कर्मचारीको सामाजिक सुरक्षा कोषसँग सम्बन्धित प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरी तालिमको आयोजना गरिएको हो।
‘गुणस्तरीय शिक्षा, सशक्त विद्यालय, समृद्ध समाज’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नेशनल प्याब्सन कोशी प्रदेशले विद्यालयको शैक्षिक गुणस्तरसँगै प्रशासनिक तथा व्यवस्थापकीय क्षमता विकासमा समेत जोड दिँदै आएको अध्यक्ष खनालले बताए।
नेशनल प्याब्सन मोरङको समन्वयमा हुने तालिमले विद्यालयको आर्थिक तथा प्रशासनिक कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







