सुन्दरहरैंचा (मोरङ) : रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले मोरङको सुन्दरहरैंचा–६ स्थित पूर्वाञ्चल एकेडेमीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवारबाट संकलन गरिएको उक्त रकम प्याब्सन राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
राहत संकलन अभियानमा विद्यालयको पूर्वाञ्चल बाल क्लबको सक्रिय सहभागिता रहेको थियो। बाल क्लबको पहल तथा समन्वयमा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकलाई अभियानमा जोड्दै राहत रकम संकलन गरिएको हो।
विशेषगरी विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट समेत रकम बचाएर बाढी प्रभावित परिवारका लागि सहयोग गरेका थिए। आफूले खर्च गर्ने सानो रकमबाट केही हिस्सा विपद्मा परेका नागरिकको सहयोगका लागि छुट्याउन पाउँदा विद्यार्थीहरू उत्साहित भएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल दिपेन राईले विपद्का बेला एकअर्काप्रति सहयोग र सहकार्यको भावना आवश्यक रहेको बताउँदै पूर्वाञ्चल एकेडेमीले विद्यार्थीलाई शिक्षासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना सिकाउने उद्देश्यले अभियान सञ्चालन गरेको बताए।
“विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट समेत रकम बचाएर बाढी प्रभावित दाजुभाइ तथा दिदीबहिनीको सहयोगका लागि योगदान गर्नु अत्यन्तै प्रेरणादायी कुरा हो,” प्रिन्सिपल राईले भने, “सानो–सानो सहयोग पनि विपद्मा परेका नागरिकका लागि ठूलो सहारा बन्न सक्छ। यही भावनालाई आत्मसात गर्दै विद्यालय परिवार एकजुट भएर राहत संकलन अभियानमा सहभागी भएको हो।”
उनले बालबालिकामा सानैदेखि मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाभाव विकास हुनु आवश्यक रहेको उल्लेख गर्दै यस अभियानले विद्यार्थीहरूलाई समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी अभिभावकहरूले समेत स्वेच्छिक रूपमा सहयोग गर्दै अभियानलाई थप अर्थपूर्ण र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएका थिए। शिक्षक तथा विद्यालयका कर्मचारीहरूको सक्रिय सहभागिताले पनि राहत संकलन अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको विद्यालयको भनाइ छ।
बाढीका कारण रसुवामा जनजीवन प्रभावित हुनुका साथै विभिन्न भौतिक संरचना र नागरिकका दैनिक आवश्यकतामा समेत असर परेको अवस्थामा तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको महसुस गर्दै विद्यालय परिवारले अभियान सञ्चालन गरेको जनाएको छ।
विद्यालयले उक्त अभियानलाई केवल आर्थिक सहयोग संकलनको रूपमा मात्र नभई विद्यार्थीहरूमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहकार्य र सेवाभाव विकास गर्ने अवसरका रूपमा समेत लिएको जनाएको छ। पूर्वाञ्चल एकेडेमी परिवारले रसुवा बाढीबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र राहत, उद्धार तथा सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।







