सुनसरी | राष्ट्रिय बाल दिवसको अवसरमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ ले वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ।
“बालमैत्री स्थानीय शासन, समृद्ध बालबालिका, उज्ज्वल भविष्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा वडाका जनप्रतिनिधि, वडा सचिव, वडा बाल सहजकर्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।
बालमैत्री स्थानीय शासन निर्माण तथा बालबालिकामा रहेको रचनात्मक क्षमताको उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा वडाभित्रका बाल सञ्जालमा आबद्ध तथा टोल बाल समूहमा आबद्ध गरी २२ जना बालबालिकाको सहभागिता रहेको थियो।
प्रतियोगितामा कौसिला चन्द्रवंशीले प्रथम स्थान हासिल गर्नुभएको छ भने इसान लिम्बूले द्वितीय र एलिस चौधरीले तृतीय स्थान हासिल गर्नुभएको छ। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बालबालिकालाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको छ भने सबै सहभागीलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको छ।
आयोजक वडा कार्यालयले बालबालिकामा भएको प्रतिभा प्रस्फुटन होस् र सिर्जनात्मक तथा कलात्मक क्षमताको विकास होस् भन्ने उद्देश्यले बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरिएको जनाएको छ।—







