सुन्दरहरैँचा (मोरङ) : “खुशी बालबालिका, समृद्ध सुन्दरहरैँचा” भन्ने मूल भावका साथ ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा सुन्दरहरैँचा नगर बाल सञ्जालद्वारा आयोजित विभिन्न बालमैत्री प्रतियोगितामा सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

नगर बाल सञ्जालद्वारा आयोजित नेपाली हस्तलेखन प्रतियोगितामा हिमालय इङ्लिस स्कुलका विद्यार्थी महेश ढुंगानाले द्वितीय स्थान हासिल गरेका छन्। त्यसैगरी, चित्रकला प्रतियोगितामा विद्यार्थी सिजन लिम्बूले तृतीय स्थान प्राप्त गर्दै विद्यालयको नाम उँचो बनाएका छन्।

बालबालिकाको सिर्जनशीलता, प्रतिभा र क्षमता प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगितामा आफ्ना विद्यार्थीले प्राप्त गरेको सफलताप्रति विद्यालयले खुशी व्यक्त गरेको छ।

विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीहरूको यो उपलब्धिले विद्यालयमा अध्ययनसँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई समेत प्राथमिकता दिइँदै आएको प्रमाणित गरेको बताए। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि बालबालिकाको प्रतिभा विकासका लागि विद्यालयले निरन्तर अवसर र प्रोत्साहन प्रदान गर्ने बताए।

“विद्यार्थीको सफलता उनीहरूको व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय, अभिभावक र शिक्षक सबैका लागि गर्वको विषय हो,” प्रिन्सिपल खनालले भने, “बालबालिकाको सिर्जनात्मक क्षमता र प्रतिभालाई पहिचान गरी उनीहरूलाई अझ अगाडि बढाउन विद्यालय सदैव प्रतिबद्ध छ।”

विद्यालयले हस्तलेखनतर्फ द्वितीय स्थान हासिल गर्ने महेश ढुंगाना तथा चित्रकलातर्फ तृतीय स्थान प्राप्त गर्ने सिजन लिम्बूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूको तयारी र सफलतामा योगदान पुर्‍याउने सम्बन्धित शिक्षकहरूप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

राष्ट्रिय बाल दिवसका अवसरमा प्राप्त यस उपलब्धिले हिमालय इङ्लिस स्कुलमा अध्ययनरत बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वासलाई थप ऊर्जा प्रदान गरेको विद्यालयको विश्वास छ।

Smart

तपाईको प्रतिक्रिया