इटहरी । “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नारासहित ६२औँ राष्ट्रिय बालदिवस इटहरीमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ।
सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सङ्गीतकर्मी बालबालिकाहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै उनीहरूलाई उत्साह, हौसला र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
बालबालिकाको सिर्जनशीलता र प्रतिभालाई उजागर गर्न तथा उनीहरूलाई सांगीतिक क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने वातावरण निर्माण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
कार्यक्रममा बालबालिकाको प्रतिभा प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूको क्षमता विकासका लागि निरन्तर अवसर र प्रोत्साहन आवश्यक रहेकोमा जोड दिइएको थियो।







