भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले आफ्नो ७५औँ हिरक जन्मोत्सव ‘अमृत वर्ष–२०८३’ का रूपमा विशेष कार्यक्रमसहित मनाउने भएको छ।
विद्यालयले आगामी मंसिर १५, १६ र १७ गते विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ। हिरक जन्मोत्सवका अवसरमा स्मारक तथा स्मारिका प्रकाशन, ७५ वटा वृक्षरोपण, रक्तदान, पूर्वविद्यार्थी पुनर्मिलन तथा भेटघाट, स्थानीय सांस्कृतिक झाँकी, विषयगत प्रदर्शनी, सम्मान तथा पुरस्कार वितरणलगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ।
विद्यालयका प्रधानाध्यापक विष्णु कुमार राईका अनुसार विद्यालयको ७५ वर्षे शैक्षिक यात्रालाई स्मरण गर्दै पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकलाई जोड्ने उद्देश्यले हिरक जन्मोत्सव आयोजना गर्न लागिएको हो। उहाँले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको ऐतिहासिक योगदानलाई थप संस्थागत गर्दै आगामी दिनमा समेत सबैको सहयोग र सुझाव आवश्यक रहेको बताउनुभयो।
शिक्षक–अभिभावक संघका अध्यक्ष बाबुराम तामाङले जन्मोत्सवलाई विद्यालय परिवारमा मात्र सीमित नराखी देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी र शुभेच्छुकलाई समेत सहभागी गराउने तयारी भइरहेको बताउनुभयो। उहाँका अनुसार लामो समयपछि पूर्वविद्यार्थी तथा विद्यालयसँग जोडिएका विभिन्न पुस्तालाई एउटै थलोमा भेला गराउने गरी कार्यक्रमको तयारी भइरहेको छ।
त्यस्तै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल रणपहेलीले हिरक जन्मोत्सव विद्यालयको ७५ वर्षे इतिहास, उपलब्धि र योगदानलाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले जन्मोत्सवलाई भव्य र प्रभावकारी बनाउन सम्पूर्ण सरोकारवालाको सहभागिता तथा सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयले देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी, अभिभावक, शिक्षक, शुभेच्छुक, स्थानीय सरकार, संघसंस्था, उद्योगी–व्यवसायी तथा सम्पूर्ण सरोकारवालालाई हिरक जन्मोत्सवमा सहभागी हुन र आवश्यक सहयोग गर्न आह्वान गरेको छ।
विद्यालयका अनुसार मंसिर १७ गते मुख्य समारोह आयोजना गरी हिरक जन्मोत्सवको समापन गरिनेछ।







