इटहरी । युवामा नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि तथा सकारात्मक परिवर्तनका लागि सक्रिय बनाउने उद्देश्यले इटहरी जेसीजले आयोजना गरेको ‘जेसीज सप्ताह ’ सम्पन्न भएको छ।

‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनाका साथ भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन भएको सप्ताहअन्तर्गत विभिन्न सातवटा कार्यक्रम आयोजना गरिएको थियो। बुधबार आयोजित ‘Leaders for Tomorrow & Closing Ceremony’सँगै सप्ताह औपचारिक रूपमा सम्पन्न भएको हो।

समापन समारोहमा ‘Change. Connect. Lead’ विषयमा प्यानल छलफल गरिएको थियो। छलफलमा युवाको नेतृत्व विकास, उद्यमशीलता, शिक्षा, समसामयिक विषय तथा ज्ञानलाई व्यवहारमा उतार्दै समाजमा प्रभावकारी योगदान पुर्‍याउने विषयमा केन्द्रित रहेर वक्ताहरूले आफ्ना धारणा राखेका थिए।

प्यानलमा एमएम ग्रुप अफ कम्पनीजका म्यानेजिङ डाइरेक्टर सुयेश प्याकुरेलले ‘Entrepreneurial Mindset and Innovation’, पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘Education and Current Affairs’ तथा पञ्चानल विश्वविद्यालयको Faculty of Management का प्रा. डा. सन्देश दास श्रेष्ठले ‘From Knowledge to Leadership: Creating Meaningful Impact’ विषयमा प्रस्तुति दिएका थिए।

प्रस्तुतिपछि सहभागीहरूसँग प्रश्नोत्तर तथा प्रत्यक्ष प्यानल संवादसमेत गरिएको थियो। युवाले नेतृत्व, उद्यमशीलता, शिक्षा र ज्ञानलाई व्यवहारिक जीवनसँग कसरी जोड्न सक्छन् भन्ने विषयमा छलफल केन्द्रित थियो।

सात दिन, सात कार्यक्रम

जेसीज सप्ताहअन्तर्गत उद्घाटन समारोहसँगै ह्विलचेयर म्याराथन, ‘शिक्षा उपहार’, ‘भोइस अफ टुमोरो’ वक्तृत्वकला प्रतियोगिता, धार्मिक हाजिरीजवाफ प्रतियोगिता, लेट देवेन्द्र के. श्रेष्ठ मेमोरियल इन्टर जेसीज रनिङ क्विज प्रतियोगिता तथा स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

‘भोइस अफ टुमोरो’ वक्तृत्वकला प्रतियोगितामा सुष्मा गौडावरी कलेज, इटहरी प्रथम भएको थियो। कोशी सेन्ट जेम्स कलेज, इटहरी द्वितीय तथा विश्व आदर्श कलेज, इटहरी तृतीय भएका थिए।

त्यस्तै, कुशे औँसीका अवसरमा वृद्ध चौतारी, इटहरीमा धार्मिक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा ज्येष्ठ नागरिकलाई खिर खुवाउनुका साथै १६ वटा प्रश्नमार्फत प्रतियोगिता सञ्चालन गरिएको थियो। सही उत्तर दिने १६ जनालाई पुरस्कारसमेत वितरण गरिएको थियो।

लेट देवेन्द्र के. श्रेष्ठ मेमोरियल इन्टर जेसीज रनिङ क्विज प्रतियोगितामा विभिन्न जेसीज शाखाको सहभागिता रहेको थियो। उपलब्ध स्कोरअनुसार जेसीआई तरहरा ९३ अंकसहित अग्रस्थानमा रहँदा जेसीआई विराटनगरले ८० र जेसीआई रमाइलोले ६२ अंक प्राप्त गरेका थिए।

विभिन्न क्षेत्रको सहयोग

सप्ताहका कार्यक्रम सञ्चालनमा विभिन्न व्यावसायिक तथा संस्थागत क्षेत्रबाट सहयोग प्राप्त भएको इटहरी जेसीजले जनाएको छ। जेसीज सप्ताह–२०२६ को मुख्य प्रायोजक जोमाई नेपाल रहेको थियो।

त्यस्तै, अरवानी फुड्स सह–प्रायोजक, ४ स्टार म्याट्रेस ‘Powered by’ तथा शक इनर्जी ड्रिंक ‘Energy Partner’का रूपमा रहेका थिए।

इटहरी जेसीजका अनुसार साताव्यापी कार्यक्रमले युवाको नेतृत्व क्षमता, ज्ञान, वक्तृत्वकला, प्रतिस्पर्धात्मक भावना, सामाजिक जिम्मेवारी तथा आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य पूरा गरेको छ।

सप्ताहको नेतृत्व इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीले गरेका थिए। कार्यक्रमका प्रमुख सह–समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा), महासचिव जेसी टंकमणि न्यौपाने (रबिन) तथा समापन समारोहका को–अर्डिनेटर जेसी प्रज्वल बस्नेत रहेका थिए।

साताव्यापी गतिविधिमार्फत युवालाई नेतृत्वसँग जोड्ने र समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यसहित इटहरी जेसीजको जेसीज सप्ताह–२०२६ सम्पन्न भएको हो।

Smart

तपाईको प्रतिक्रिया