इटहरी । इटहरी इन्टरनेसनल कलेजले ११७ जना विद्यार्थीलाई डेढ करोड रुपैयाँभन्दा बढीको ‘AAA स्कलरशिप २०२६’ प्रदान गरेको छ।

कलेजले विशेष समारोह आयोजना गरी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो। विद्यार्थीहरूको मेहनत, शैक्षिक उपलब्धि तथा समग्र सहभागितालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्यव्रत कोइरालाले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए। कार्यक्रममा कलेजका अध्यक्ष लेखनाथ घिमिरे, आईएनजी ग्रुपका उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतको उपस्थिति थियो।

कलेजका अनुसार सन् २०२२ देखि निरन्तर प्रदान हुँदै आएको ‘AAA स्कलरशिप’ को यो पाँचौँ संस्करण हो। यस कार्यक्रममार्फत हरेक वर्ष योग्य तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

यस वर्ष छनोट भएका विद्यार्थीले सम्बन्धित शैक्षिक वर्षको वार्षिक कलेज शुल्क पूर्ण रूपमा छात्रवृत्तिमार्फत प्राप्त गरेका छन्। विद्यार्थी छनोट शैक्षिक प्रदर्शन, हाजिरी, अनुशासन तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागितालगायतका मापदण्डका आधारमा गरिएको कलेजले जनाएको छ।

कलेजले छात्रवृत्ति छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी रहेको दाबी गरेको छ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकको समारोहमा सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना दिएका थिए। पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै बदलिँदो परिस्थितिमा विद्यार्थीले आफूलाई नयाँ ज्ञान, प्रविधि र सीपसँग निरन्तर जोड्दै अब्बल बनाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

कलेजका अनुसार ‘AAA स्कलरशिप’ ले विद्यार्थीको मेहनत र प्रतिभालाई प्रोत्साहन गर्दै आएको छ। छात्रवृत्तिले विद्यार्थीलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने कलेजको भनाइ छ।

आईएनजी ग्रुपअन्तर्गत इटहरी इन्टरनेसनल कलेजसँगै इस्लिङ्टन कलेज, हेराल्ड कलेज काठमाडौं, इन्फर्मेटिक्स कलेज पोखरा र बिराटनगर इन्टरनेसनल कलेज विराटनगरलगायतका शैक्षिक संस्था सञ्चालनमा छन्।

इटहरी इन्टरनेसनल कलेजले गुणस्तरीय तथा व्यावहारिक शिक्षासँगै विद्यार्थीको प्रतिभा र क्षमताको विकासमा जोड दिँदै आएको जनाएको छ। कलेजले ‘AAA स्कलरशिप’ कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया