इटहरी । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
इटहरीस्थित सुष्मा गोदावरी कलेजमा सोमबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापन र विपद्पछि प्रभावित नागरिकको पुनर्वासका विषयमा छलफल गरिएको थियो।
मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाका जिल्ला सभापति ओमप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वातावरण विज्ञ युगदीप लुइँटेल, राजनीतिकर्मी रमेश खत्री, राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटी सभापति महेश थापा लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै कार्यक्रममा चलचित्रकर्मी रितेशजंग पौडेल, पेशाकर्मी होमेश्वर ठाकुर, युवा समाजसेवी दिलकुमार राई, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा विभिन्न सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका कारण स्थानीयस्तरमा देखिएका समस्या, विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका, उद्धार तथा राहतलाई प्रभावकारी बनाउने उपाय र विपद् प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा आफ्ना धारणा राखेका थिए।
जलवायु परिवर्तनले मानव जीवन र अधिकारमा पारिरहेको प्रभाव न्यूनीकरण गर्न सरकार, स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
मानव अधिकार तथा शान्ति समाजले “तोड्न होइन, जोड्नका लागि योगदान गरौं, संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गरौं” भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरेको जनाएको छ।







